११ असार २०८३, बिहीबार

अमेरिकामा भयंकर साइबर आक्रमण, रुसमाथि आरोप

पुस ३, २०७७
अमेरिकामा भयंकर साइबर आक्रमण, रुसमाथि आरोप

अमेरिकामा यसै साता गरिएको ठूलो साइबर आक्रमणमा सयौं अमेरिकी कम्पनी र संघीय सरकारका इकाइहरूलाई निशाना बनाइएको छ । 

यस आक्रमणमा कुनै विदेशी सरकारको हात रहेको विभिन्न अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् भने केहीले यस ह्याकिङमा रुसको हात रहेको आरोप लगाएका छन् । 

अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनले बिहीवार एक बयान जारी गरेर यी साइबर आक्रमण गर्नेविरुद्ध कारवाही चलाउने प्रतिज्ञा गरेका छन् । आफूले कार्यभार सम्हालेपछि साइबरसुरक्षालाई उच्च प्राथमकितामा राख्ने उनको भनाइ छ । 

आक्रमणका विषयमा सबै कुरा स्पष्ट नभए पनि आफूहरूले थाहा पाएसम्म यो गम्भीर चिन्ताको विषय भएको उनले बताए । 

अघिल्लो साता व्यापक ह्याकिङको खबर आएको थियो । 

यो आक्रमण अमेरिकी कम्पनी सोलारविन्ड्सले बनाएको र बजारमा पठाएको ओरियोन नेटवर्क मोनिटरिङमार्फत गरिएको र यसमा सम्भवतः विदेशी मुलुकको हात रहेको साइबरसुरक्षा कम्पनी फायरआईले जनाएको छ । 

मंगलवार अमेरिकाको होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्टले सरकारी कार्यालयहरूमा साइबर आक्रमण भएको स्वीकार गरेको थियो र यसको प्रतिकारका लागि सरकारी तथा निजी साझेदारसँग मिलेर काम गरिरहेको जानकारी दियो । 

अमेरिकाको साइबरसुरक्षा निकाय (सीसा) ले यस आक्रमणबाट अमेरिकी सरकारका सबै तहलाई गम्भीर जोखिममा पारेको र धेरै निकायहरूलाई असर पारेको बिहीवार जनाएको छ । 

अमेरिकी संसद्का दुई समितिहरू होमल्यान्ड सेक्युरिटी कमिटी र ओभरसाइट यान्ड रिफर्म कमिटीले साइबरआक्रमणमा अनुसन्धान शुरू गरेको बिहीवार बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्