
आन्दोलनरत उखु किसानहरूको समर्थनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माइती घर मण्डलामा पुगेका छन् ।
लामो समयदेखि उखुको भुक्तानी रकम नपाउँदा आन्दोलन गरिरहेका किसानहरूको समर्थनमा शुक्रवार दिउँसो उनी माइतीघर मण्डला पुगेका हुन् ।
किसानको आन्दोलनलाई समर्थन गर्दै उनले बक्यौता रकम तत्काल भुक्तानीका लागि मिल मालिकहरूलाई आग्रह गरेका छन् ।
उखु किसानहरूले आफूले पाउनुपर्ने रकम उखु मिलहरूले तत्काल दिनुपर्ने र त्यसका लागि सरकारले पहल गर्नुपर्ने माग राख्दै आइतवारदेखि माइती घर मण्डलामा आन्दोलन शुरू गरेका हुन् ।
आइतवारदेखि जारी आन्दोलनमा विभिन्न राजनैतिक दलका नेताहरूले समेत ऐक्यबद्धता जनाउँदै आइरहेका छन् ।
उखु किसानहरूले आन्दोलन गरेसँगै बिहीवार सरकारले ७ दिनभित्र किसानको बक्यौता रकम भुक्तानीका लागि उखु मिलहरूलाई निर्देशन दिएको छ ।
यता भुक्तानी दिन आनाकानी गर्ने ४ उखु मिल सञ्चालकहरूलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशनमा प्रहरीले पुर्जी समेत जारी गरेको छ । यद्यपी मिल सञ्चालकहरूलाई अहिलेसम्म प्रहरीले पक्रन सकेको छैन ।