अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड- १९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनु भएको छ ।
नेपाल आर्थिक पत्रकार संघको नव निर्वाचित कार्य समितिका पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड-१९ को लक्षण देखिएका नेपालीको नि:शुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताए ।
'भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन । हामी त्यो तयारीमा छौं, अर्थमन्त्री पौडेलले भन्नु भयो-भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशहरुसँग कुटनीतिक संवाद जारी राखेका छौं ।'
उहाँले ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको जानकारी दिए ।
अर्थमन्त्री पौडेलले मापदण्ड अनुसार कोभिड-१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिड विरुद्धको लडाइलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताए ।
अर्थमन्त्री पौडेलले कोभिड-१९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलायमान बनाउन सरकार लागी परेको बताए ।
'अर्थतन्त्रलाई सबल, सक्षम र गतिशिल बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्छ,' उनले भने ।