
राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले देशका सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गरिने बताएका छन्।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखी शुरु प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको पुरुषतर्फको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन गर्दै उनले हाल देशका विभिन्न १० स्थानमा ठूला क्रिकेट मैदान निर्माण भइरहेकाले आगामी चार÷पाँच वर्षभित्रमा प्रदेशस्तरीय रङ्गशाला निर्माण गरिने बताए । सरकारले तल्लोतहबाटनै खेलकूद विकासका कार्यक्रम शुरु गरेकाले खेल क्षेत्रले विकासमा फड्को मार्ने विश्वास उनको छ ।
पोखरा क्रिकेट मैदान क्रिकेट खेल्नका लागि संसारकै अलौकिक मैदान भएको जनाउँदै सदस्य सचिव सिलवालले मैदान स्तरोन्नति गर्नुपर्नेमा जोड दिए ।
प्रादेशिक छनोट प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा कास्कीले विजयी शुरुआत गरेको छ । कास्कीले स्याङ्जालाई सात पराजित गर्दै प्रतियोगितामा विजयी बनेको हो ।