१२ असार २०८३, शुक्रबार

नेपाली खाना विश्वमा चिनाउन सफल सन्तोष

पुस ४, २०७७
नेपाली खाना विश्वमा चिनाउन सफल सन्तोष
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

बीबीसी वानबाट प्रसारित मास्टरसेफ : द प्रोफेसनल्स् २०२० को अन्तिम प्रतिस्पर्धामा उपाधि नजिते पनि संयुक्त अधिराज्य (बेलायत) मा बसोबास गर्ने नेपालका सन्तोष साहले निर्णायकसहित सम्पूर्ण नेपालीको मन जित्न सफल भएका छन् ।

बेलायतको समयअनुसार बिहीबार राति भएको अन्तिम प्रतिस्पर्धामा साह र नेदरल्यान्डका वार्ट भान डर लीलाई पछि पार्दै बेलायतका २५ वर्षीय एलेक्स वेब मास्टर सेफको विजेता बन्न सफल भएका हुन् ।

हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा सहभागी ३२ व्यावसायिक सेफमध्ये तीन जनाले अन्तिम प्रतिस्पर्धामा आफ्नो स्थान बनाउन सफल भएका थिए। नेपाली ढाकाटोपीमा देखिएका ३५ वर्षीय साहले अन्तिम प्रतिस्पर्धामा चरेसको थालमा राँगाको मासु, खोले साग, भेडाको गिदीलगायतका परिकार पस्किएका थिए ।

प्रतियोगिताका विभिन्न चरणमा साहले योमरी, क्रिस्पी, चिकेन चिल्ली, सी विडको अचार, भेजिटेबल अचार, खरायोको मासु, कोदोको खीर, आँपको कुल्फी, आँपको अमौरा बनाएर निर्णायकको मन जितेका थिए ।

सेमिफाइनलको पछिल्लो चरणमा साहले नेपालको हिमाली खानाबाट प्रेरित रोस्टेड काँक्राको बियाँ, प्याजको अचार, स्याउको चट्नीलगायतका परिकार बनाएका थिए । यसैगरी विभिन्न चरणमा सिस्नो र आलुको तरकारी, बेथेको साग, भाङको चट्नी मकैको रोटी, तामाको अचार जस्ता नेपालका मौलिक खानाका परिकार पस्किएका थिए ।

साहले लन्डनका चर्चित सेफहरूसँग प्रशिक्षण लिनुका साथै सँगै काम गरेको अनुभव छ । नेपालको सिराहा जिल्लाको कर्जन्हा घर भएका साह सानो उमेरमै कामको खोजीमा भारत गएका थिए ।

भारतको गुजरातमा किचन पोर्टरबाट सुरु भएको उहाँको सङ्घर्ष भारतको पाँचतारे होटल हुँदै एक दशकअघि लन्डनका चर्चित रेस्टुरेन्टसम्म पुगेको हो । हाल उनी लन्डनको एक रेस्टुरेन्टमा हेड सेफका रूपमा कार्यरत छन् । प्रतियोगिताको फाइनलमा पुगेका अर्का प्रतिस्पर्धी ली लन्डनमै सेफको रूपमा कार्यरत छन् ।

प्रतियोगितामार्फत नेपालका विभिन्न परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा परिचत गराउन आफू सफल भएको साहले बताए । ​करुण अर्यालले गोरखापत्र दैनिकमा खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्