२५ जेठ २०८३, सोमबार

नेता र मन्त्री भेट्न आउँछन्, भुक्तानीमा सघाउन्नन्

पुस ४, २०७७
नेता र मन्त्री भेट्न आउँछन्, भुक्तानीमा सघाउन्नन्
तस्वीर सौजन्य : कान्तिपुर दैनिक

उखुको भुक्तानी माग गर्दै एक सातादेखि किसान काठमाडौंको माइतीघर मण्डलमा आन्दोलनरत छन् । उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विभिन्न राजनीतिक दल, संघसंस्था प्रदर्शनस्थल पुगिरहेका छन् । समाजिक सञ्जालमार्फत पनि धेरैले किसानको पक्षमा ऐक्यबद्धता जनाएका छन् ।

आन्दोलनरत किसानलाई भ्टेन शुक्रबार प्रमुख प्रतिपक्षी दल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडैल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी पनि माइतीघर पुगे । त्यस क्रममा वरिष्ठ नेता पौडेलले आफ्नो पार्टी सधैं किसानको साथमा रहेको भन्दै उनीहरूमाथि अन्याय हुन नदिन सरकारसँग माग गरे ।

‘शुक्रबारै बसेको संसदीय दलको कार्यसमिति बैठकले उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय गरेको छ, तपाईंहरूका साथमा छौं,’ पौडेलको भनाइ उद्धृत गर्दै उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले भने, ‘सरकारले तत्काल भुक्तानी नगराए सडकमा आउँछौँ ।’

किसानलाई भेटेर मन्त्रीद्वय भट्ट र त्रिपाठीले पनि आफूहरू किसानकै छोरा भएकाले भुक्तानी हुनेमा विश्वास गर्न आग्रह गरेका थिए । ‘म पनि किसानकै छोरा हुँ । आज श्रीराम सुगर मिलले १८ करोड रुपैयाँ दिएको छ । आइतबारदेखि १०/१२ दिनमा सबै भुक्तानी दिन्छ,’ मन्त्री भट्टको भनाइ उद्धृत गर्दै रायले भने, ‘विश्वास राख्नुस्, कार्यदल गठन भएको छ । माग कार्यान्वयन हुन्छन् ।’

यसरी राजनीतिक दल र मन्त्रीहरूले आश्वस्त पार्न खोजे पनि किसानले भने उनीहरूको विश्वास गरेका छैनन् । किसानका नाममा राजनीतिक चलखेल भइरहेको उनीहरूको बुझाइ छ । दुई वर्षअघि उद्योग मन्त्रालय आफैंले गरेको सम्झैता कार्यान्वयन गरेन । अझै म्याद थपिरहेको छ, यो किसानहरूप्रतिको मजाक हो,’ रायले भने, ‘किसान यति बेला बिरामी परिरहेका छन् । नेताहरूले अन्दोलनलाई मजाक ठानेका छन् ।

अब मधेसका राजनीतिक दल, कांग्रेस, नेकपालगायत कुनै नेताप्रति हाम्रो विश्वास रहेन, उनीहरूले त राजनीतिक चलखेल पो गरिरहेका रहेछन् ।’ मन्त्रीले म्याद थपको कुरा गरिरहँदा सचिव रायले भने म्याद थपको कुरा मान्न आफूहरू तयार नभएको प्रतिक्रिया दिए । समितिका अनुसार आन्दोलनमा आउने किसानको संख्या दैनिक बढ्दै गएको छ । आइतबार सर्लाहीका मात्रै किसानले आन्दोलन गरेकोमा अहिले नवलपरासी, कपिलवस्तु, रौतहटलगायतका पनि माइतीघर आइपुगेका छन् । ‘सरकारबाट धोका मात्रै भयो, काम होला भनेर अब त विश्वासै लाग्न छाड्यो,’ आन्दोलनमा सहभागी सर्लाहीका किसान रामबाबु मण्डलले भने, ‘अन्नपूर्ण सुगर मिलले २०७१ सालकै पैसा दिएको छैन । यो पीडा सरकारले कहिले बुझ्छ ?’

मण्डलका अनुसार अन्नपूर्ण सुगर मिलबाट उनले साढे ४ लाख रुपैयाँ लिनुपर्नेछ । ‘जबसम्म हातमा पैसा पर्दैन, तबसम्म विश्वास छैन,’ उनले भने, ‘आन्दोलनबाट पनि हामी पछि हट्दैनौं ।’ उपत्यकामा चिसो बढेसँगै आन्दोलनरत किसान बिरामी परिरहेका छन् । रायका अनुसार चिसोकै कारण दुई जना किसानलाई कान्तिपुर अस्पतालमा भर्ना गरिएको थियो । ४/५ दिन अस्पताल बसेपछि उनीहरू पुनः आन्दोलनमा सहभागी भएका छन् । 

यता किसानका समस्या एवं मागमा उद्योगमन्त्री भट्ट र कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले चासो दिएका छैनन् । ‘किसानको पक्षमा कृषिमन्त्री पनि बोल्नुपर्ने हो,’ सचिव रायले भने, ‘तर, उहाँले कुनै चासो दिनुभएको छैन ।’ किसानकै हकहितका लागि कांग्रेस समर्थक नेपाल किसान संघ, नेकपाको अखिल नेपाल किसान महासंघ, राष्ट्रिय किसान सञ्जाल, नेपाल किसान आयोगलगायत छन् । किसानकै छाता संगठन राष्ट्रिय कृषक समूह महासघ नेपाल, नेपाल उखु उत्पादक महासंघ पनि छ । तर यी संस्था पनि मौन छन् । ऐक्यबद्धता जनाए पनि उनीहरूबाट ठोस पहलकदमी भएको छैन ।

‘किसानको राष्ट्रियस्तरको समूह भनेको महासंघ नै हो । किसान आयोग, पार्टीहरूका भ्रातृ संगठन पनि छन्,’ राष्ट्रिय कृषक समूह महासघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारीले भने, ‘महासंघका प्रतिनिधि एकछिन मात्रै गएर पुग्दैन । उनीहरूले त आन्दोलन नै लिड गर्नुपर्ने हो । तर समस्या पर्दा लबिइङ गर्नेबाहेक केही काम भएन । सबै कामचलाउ मात्रै भयो ।’

राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले भने उखु किसानको आन्दोलनमा आफूहरूको ऐक्यबद्धता रहेको र केही पर्दा थप किसान उतार्न सकिने प्रतिक्रिया दिए । अहिलेको आन्दोलनमा पनि आफूहरूले सहजीकरण गरेको उनको दाबी छ । ‘सरकारलाई ध्यानाकर्षण गराउने काममा पनि लागिपरेका छौं । सस्थागत रूपमा ब्यानर पनि राखेका छौं । किसानको दुःखमा जति बेला पनि जुट्छौं,’ उनले भने ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले पनि आन्दोलनमा आफूहरूको नैतिक समर्थन रहेको दाबी गरे । तर किसानहरू आफूहरूसँग सल्लाह नगरी आन्दोलनमा उत्रिएको उनको आरोप छ । यता चिनी उद्योग संघका अध्यक्ष शशि अग्रवालले श्रीराम चिनी उद्योगले शुक्रबारबाट पैसा दिन सुरु गरेको जानकारी दिए । अन्नपूर्ण सिगर मिल भने संघको सम्पर्कमा नरहेको उनको भनाइ छ । कान्तिपुर  दैनिकमा राजु चौधरीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्