
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार जान लागेको खबरले नेकपा नेता कार्यकर्तामा सुखद सञ्चार भयो ।
नेकपाभित्र चर्किएको विवाद बालुवाटार वार्ताले समाधान गर्न नसकेका बेला खुमलटार वार्ताले केही निष्कर्ष दिने अपेक्षा कार्यकर्ताले सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका थिए ।
ओली प्रचण्डनिवास खुमलटार पुगेर छलफल गरे । बीचमा उपाध्यक्ष वामदेव गौतम समेत सहभागी भए । गौतमको सहभागितामा ओली–प्रचण्डबीच भएको भेटवार्ताले नेकपा विवादमा केही निकास निकाल्यो त ?
खुमलटार स्रोतका अनुसार भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले पार्टीमा दर्ता गरिएको राजनीतिक प्रस्ताव (आरोपपत्र) फिर्ता लिन प्रचण्डलाई आग्रह गरे । प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै पार्टीमा प्रस्ताव दर्ता गराएका छन् । जारी स्थायी कमिटी बैठकमा प्रस्तावमाथि छलफल हुनुपर्ने प्रचण्ड पक्षीय नेताहरूको अडान छ ।
ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गरेपनि प्रचण्डले प्रस्तावबारे पार्टी बैठकले नै निर्णय गर्ने अडान लिएका स्रोतले जनाएको छ । प्रचण्डले पार्टीमा निर्णय भइसकेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन ओलीलाई आग्रह गरे तर ओलीले प्रक्रिया मिलाएर फिर्ता लिने भन्दै त्यसलाई टारे ।
‘अध्यक्षद्वयबीच खासै नयाँ कुरा केही भएन । उही पुरानै आग्रह र अडान दोहोर्याउने काम मात्रै भयो,’ खुमलटार स्रोतले भन्यो, ‘हिजोसम्म बालुवाटारमा हुने गरेका कुरा आज खुमलटारमा भएको मात्रै हो, नयाँ केही कुरा छैन ।’
स्थायी कमिटी बैठकले फिर्ता लिने निर्णय गरिसक्दा समेत प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन ढिलाइ गर्दा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सशंकित देखिएको छ । एकपछि अर्काे घटनाक्रमले नेकपा विवाद चर्किंदै गएको छ ।
प्रचण्डलाई भेटेपछि गृहमन्त्री रामबहादुर थापाको सरकारी निवास पुल्चोक पुगेर ओलीले थापासहित स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङसँग भेटवार्ता गरेका छन् ।
ओली खुमलटारबाट फर्केपछि प्रचण्डले समेत वरिष्ठ नेता नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका छन् । पुस ५ गते नेकपा स्थायी कमिटी बैठक बस्ने गरी तोकिएको छ ।