२४ जेठ २०८३, आइतबार

अमेरिकामा दोस्रो खोपलाई अनुमति

पुस ५, २०७७
अमेरिकामा दोस्रो खोपलाई अनुमति

 अमेरिकी सरकारले कोभिड–१९ विरुद्धको दोस्रो खोप प्रयोगका लागि अनुमति दिएको छ । योसँगै खोपको दसौं लाख मात्रा वितरण गर्नका लागि बाटो खुलेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।


अमेरिकी नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) ले शुक्रबार मोडर्नाको खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो ।

मोडर्नाको खोप प्रयोगका लागि अनुमति दिन सकिने सल्लाहकार समितिको सुझावसँगै एफडीएले त्यसको अनुमति दिएको हो । एफडीए सल्लाहकार समितिले बिहीबार २० मतका साथ खोपलाई अनुमोदन गरेको हो । खोप प्रयोगको अनुमतिबारेको निर्णयमा एक सदस्य तटस्थ बसेका थिए ।
‘आपत्कालीन प्रयोगको अनुमतिसँगै अमेरिकामा १८ वर्ष र त्यसभन्दा माथिका व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाउने बाटो खुलेको छ,’ एफडीएले उल्लेख गरेको छ । अमेरिकी खोप कार्यक्रमले अप्रिलसम्ममा ५ करोड मानिसलाई खोप लगाइसक्ने बताएको छ ।

‘जनवरी महिनामा भाइरसको संक्रमणको समस्या सुरु हुनु र डिसेम्बरमा दुइटा खोप तयार हुनु महत्त्वपूर्ण प्रगति हो,’ टेनेसीस्थित महारी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. जेम्स हिल्डर्थले भने । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अनुमति दिइएको भन्ने औपचारिक घोषणा हुनुभन्दा केहीअघि नै खुसी व्यक्त गर्दै ट्वीट गरेका थिए । ‘अत्यधिक मतले खोप अनुमोदित’ भएको र तत्काल वितरण गरिने’ उनको भनाइ छ ।
सीएनएनका अनुसार रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले पनि अनुमति दिएपछि उक्त खोप प्रयोगमा ल्याइनेछ । सीडीसीले शनिबार वा आइतबार यस विषयमा छलफल गर्ने बताइएको छ । सीडीसीको अनुमतिसँगै आगामी सातादेखि अमेरिकामा मोडर्ना खोप प्रयोगमा आउनेछ ।

अमेरिकी सरकारले २० करोड मोडर्ना खोप किन्ने सहमति दिइसकेको छ । त्यसमध्ये ६० लाख तत्काल वितरणका लागि विभिन्न स्थानमा पठाउन तयार हुने जनाइएको छ । स्वास्थ्य सचिव एलेक्स अजरलाई उद्धृत गर्दै सीएनएनले आगामी सातासम्म मोडर्नाले उक्त परिमाणको खोप उपलब्ध गराउने उल्लेख गरेको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको निर्देशिकामा स्वास्थ्यकर्मीहरूलाई प्राथमिकता सूचीमा राख्नुपर्ने बताइएको छ । त्यसपछि लामो समयदेखि केयर होममा बसिरहेका अमेरिकीलाई खोप दिइने जनाइएको छ । अति आवश्यक क्षेत्रमा कार्यरतहरू त्यसपछिको प्राथमिकतामा पर्छन् । तर कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने कुरा राज्यहरूको निर्णयमा निर्भर हुनेछ ।
संघीय खोप वितरण कार्यक्रम अप्रेसन वार्प स्पिडका प्रमुख वैज्ञानिक मन्सेफ स्लावीले युवा र स्वस्थ मानिसहरू सबैभन्दा पछाडि खोप पाउनेमा पर्नुपर्ने बताएका छन् । कम्तीमा ७०/८० प्रतिशत अमेरिकीले खोप लिएपछि मात्रै हर्ड इम्युनिटी (सामुदायिक प्रतिरोधी क्षमता) विकास हुने उनको भनाइ छ ।

यसअघि न्युयोर्ककी नर्स स्यान्ड्रा लिन्ड्से सोमबार पहिलो पटक फाइजरको खोप लिएकी थिइन् । खोप लिएपछि उनले मानव इतिहासको निकै पीडादायक समयको अन्त्यको सुरुवात हुनेमा आफू आशावादी रहेको बताएकी थिइन् । खोप सुरक्षित रहेकामा विश्वस्त हुन आग्रह गर्दै उनले महामारीका बेला सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएकी थिइन् ।

कोभिड–१९ को महामारीका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा मोडर्नाले बनाएको खोप प्रयोगसँगै राहत मिल्ने विश्वास गरिएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ का कारण ३ लाख १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै करिब १ करोड ७५ लाख संक्रमित भइसकेका छन् ।

यसअघि अमेरिकाले फाइजर र बायोएनटेकले संयुक्त रूपमा विकास गरेको कोरोना खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । करिब ३० हजार जनामा गरिएको अन्तिम चरणको परीक्षणका आधारमा विज्ञहरूले मोडर्ना खोप ९४.५ प्रतिशत प्रभावकारी रहेको जनाएका थिए ।

मोडर्ना खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ३० दिनसम्म भण्डारण गर्न सकिन्छ । योभन्दा बढी समयका लागि भण्डारण गर्नुपर्दा माइनस ४ देखि २० डिग्री सेल्सियस तापक्रम चाहिन्छ । फाइजरको खोपको प्रभावकारिता भने ९५ प्रतिशत भए पनि यसको भण्डारणका लागि माइनस ७० डिग्री सेल्सियससम्मको तापक्रम चाहिन्छ । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्