
नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको छ ।
आजै दिउँसो १ बजे बस्नेगरी पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाइएको र बैठकको मुख्य एजेण्डा संसद विघटन गर्न सिफारिस गरेको बारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नु भएको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।
चुनावको बेला स्थिरताको चर्को नारा दिने अनि आफ्नो पार्टी भित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरता तर्फ पुनः धकेल्न खोज्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास निन्दनीय भएको समेत जनाएको छ ।
शर्माले आइतवार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले संसद विघटन सिफारिस गर्ने प्रधानमन्त्री ओलीको निर्णयको राजनैतिक प्रतिवाद गर्ने जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ,'जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जितहारको द्वन्द आफैमा लज्जास्पद थियो र छ । विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा हामीले लिएका छौं र उद्घोष गर्दछौं यो प्रयत्नलाई असफल तुल्याइने छ ।'
उनले यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपील समेत गरेका छन् ।
उनले संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन सबैलाई अपिलसमेत गरेका छन् ।