१८ असार २०८३, बिहीबार

नवभारत टाइम्सले दियो संसद् विघटनको निर्णयको ‘भित्री कथा’

पुस ५, २०७७
नवभारत टाइम्सले दियो संसद् विघटनको निर्णयको ‘भित्री कथा’

भारतको प्रभावशाली राष्ट्रिय दैनिक पत्रिका नवभारत टाइम्सको अन्लाइन संस्करणमा आइतवार नेपाल सरकारले गरेको संसद् विघटनको ‘भित्री कथा’ प्रकाशन गरिएको छ । 

पत्रिका लेख्छ : 

नेपालको संविधानले अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीलाई संसद् विघटन गर्ने अनुमति दिँदैन । मन्त्रिपरिषद्को यस निर्णयलाई ओलीकै पार्टी नेकपा तथा सबै विपक्षी दलले विरोध गरेका छन् । विपक्षीहरूले सरकारको यस फैसलाका विरुद्धमा अदालतको ढोका ढकढक्याउने सम्भावना छ । 

ओलीमाथि संवैधानिक परिषद् ऐनसँग सम्बन्धित एक अध्यादेश फिर्ता लिने दबाब थियो । मंगलवार जारी गरिएको उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिइसकेकी थिइन् । 

शनिवार दिनभरि ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल र राष्ट्रपति भण्डारीसँग बैठक गरेर छलफल गरेका थिए । 

अध्यादेश फिर्ता लिनैपर्ने अवस्था आइलागेकाले बेइज्जती रोक्नका लागि ओलीले संसद् भंग गर्ने निर्णय लिएको बताइएको छ । 

ओली र प्रचण्डबीच अनेकौं विषयमा विवाद थियो । मन्त्रिपरिषदमा आफ्नो मान्छे पार्ने कुरामा दुवैबीच संघर्ष चलिरहेको थियो । ओलीले पार्टीभित्र र बाहिर कुनै नेतासँग कुरा नगरी अनेकौं नियुक्ति गरेका थिए । 

मन्त्री पद, राजदूत र विभिन्न संवैधानिक पदका विषयमा नेकपाका गुटमा सहमति बन्न सकेको थिएन । 

प्रचण्डले गृहमन्त्री जनार्दन शर्मालाई बनाउन खोजेका थिए । अनि सूचना तथा सञ्चार मन्त्रालयमा पनि आफ्नो मान्छे लान खोजेका थिए । तर ओलीले मानेनन् । 

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद्को हिउँदे सत्र छिटो बोलाउन माग गरिरहेको थियो । तर ओलीलाई पदबाट हटाउने षड्यन्त्रको हिस्सा बनेर कांग्रेसले यस्तो सत्र बोलाउनका लागि आह्वान गरेको ओली निकटका मानिसको आशंका थियो । नेकपाका असन्तुष्ट सांसदहरूसँग मिलेर कांग्रेसले अविश्वासको प्रताव ल्याउने हो कि भनी ओलीका निकटवर्तीहरू शंकालु बनेका थिए । 

ओली र प्रचण्डबीच जारी विवादका कारण नेकपाको अस्तित्व नै संकटमा परेको थियो । अर्थमन्त्री विष्णु पौडेल लगायतका नेताले पार्टी विभाजन हुन सक्ने बताउँदै आएका थिए । 

यस्तो स्थितिमा अविश्वासको प्रस्तावको सामना गरेर त्यसमा हारेमा बेइज्जती हुने डरले ओलीले त्यस्तो स्थिति आउनुभन्दा अगाडि नै संसद् भंग गर्ने निर्णय लिएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्