
देशभर मनसुनी वायु पूर्णरूपमा सक्रिय रहँदा हाल देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। विशेष गरी गण्डकीदेखि पश्चिमका क्षेत्रहरूमा मध्यमदेखि ठुलो वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको छ ।
पछिल्लो ६ घण्टामा पश्चिम तराईका केही ठाउँमा ठुलो पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा मात्रै कञ्चनपुरमा १२१ मिलिमिटर र कपिलवस्तुमा १०२.४ मिलिमिटर वर्षा मापन भएको छ ।
दिउँसो देशभर साधारणतया बदली हुनेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा, वाग्मती, गण्डकी र सुदूरपश्चिमको तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्छ। यस्तै, मधेश र कोसी को तराईका एक/दुई स्थानमा पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वाग्मती, गण्डकी र लुम्बिनीको पहाडी भूभागका एक/दुई स्थानमा भारी (ठुलो) वर्षाको सम्भावना छ।
राति पनि देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिमको तराईका साथै देशको पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनेछ। वाग्मती र गण्डकीको तराईका थोरै स्थान तथा कोशी र मधेशको तराईका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको अनुमान गरिएको महाशाखाले जनाएको छ ।
रातिको समयमा गण्डकी प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ।