संसद विघटन गर्ने निर्णयमा असहमति जनाउँदै उर्जा मन्त्रीबाट राजीनामा दिएका नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुनले सरकारी गाडी फिर्ता गरेका छन् । उनले पुल्चोकस्थित मन्त्री क्वार्टर पनि आजै खाली गरेका छन् ।
‘राजीनामा गर्नासाथ सरकारी गाडी फिर्ता गर्नुभयो र आजै क्वार्टर छाडेर बालुवाटार स्थित फ्ल्याटमा सर्ने तयारी गर्नुभएको छ’ पुनका प्रेस सहयोगी दयानिधी भट्टले लोकान्तरसँग भने ।
वर्षमान संगै राजीनामा गरेका योगेश भट्टराईले पनि सरकारी गाडी फिर्ता गरिसकेका छन् । पुन, भट्टराई सहित कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहका मन्त्रीहरुले आइतवार सामूहिक राजीनामा गरेका थिए।
सरकारको सिफारिशमा राष्टपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी २०७८ वैशाख २७ गतेका लागि निर्वाचनको मिति घोषणा गरेकी छिन् । संसद विघटनको विषयलाई लिएर चौतर्फी आलोचना भएको छ ।