
प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित संसद्का आफूनिकट सांसदहरूसँग परामर्श गरेका छन् । काठमाडौंमा उपलब्ध सबै सांसदलाई सोमवार बिहान ९ बजे बालुवाटार बोलाइएको थियो ।
आफू अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले आफूमाथि कारवाही गर्नुअघि नै नयाँ दल खोल्ने या पहिल्यै दर्ता भएको एमाले पुनर्गठन गर्ने विषयमा बालुवाटारमा छलफल भएको बताइएको छ ।
भेलामा पूर्व माओवादी खेमाबाट प्रतिनिधित्व गर्ने उद्योग मन्त्री लेखराज भट्ट पनि सहभागी थिए ।
सरकारको सिफारिशमा राष्ट्रपतिद्वारा संसद् विघटन गरिएपछि नेपालको राजनीतिमा संवैधानिक संकट आइपरेको छ । यससँगै सत्तारूढ दल नेकपाको विभाजनको रेखा पनि कोरिएको छ ।
यता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूलाई पनि बानेश्वर बोलाइएको छ ।
बानेश्वरको संसद् भवनमा दिउँसो १ बजे प्रचण्ड-नेपाल निकट सबै सांसदलाई बोलाएर वर्तमान अवस्थाका बारेमा ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ ।