२५ जेठ २०८३, सोमबार

राज्यको कल्याणमा संलग्न हुन आग्रह

पुस ७, २०७७
राज्यको कल्याणमा संलग्न हुन आग्रह

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण विद्यावारिधि र विषयगत उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई मात्रै उपस्थित गराएर सोमबार ४६औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

त्यस अवसरमा २०७६ असार १ गतेदेखि २०७७ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ग्रेसलिस्टमा समावेश भएका विद्यावारिधि, एमफिल, स्नातकोत्तर र स्नातक तह गरी ५६ हजार ७१३ जना विद्यार्थीलाई दीक्षित गरिएको छ । औपचारिक कार्यक्रममा भने विद्यावारिधि र विषयगत उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई मात्रै बोलाइएको थियो ।

त्यस अवसरमा भिडियो क्लिपमार्फत सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित विद्यार्थीलाई राज्यको कल्याणमा संलग्न हुन आग्रह गरे। उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले खेलेको अग्रणी भूमिकाको प्रशंसा गर्दै उनले प्राविधिक दक्ष जनशक्ति निर्माण गरी मुलुकको रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वराष्ट्रपति डा. रामवरण यादवले शिक्षाको अवसरबाट कोही वञ्चित हुन नपरोस् भन्दै शिक्षालाई केही व्यक्ति वा वर्गमा सीमित गर्न नहुने बताए ।

मुलुकमा गरिखाने शिक्षाको टड्कारो आवश्यकता रहेको चर्चा गर्दै उनले राज्यले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । शिक्षामा व्यापारीकरण, निजीकरण तथा दलीय प्रभाव बढेको, सही नीति कार्यान्वयन गर्न राजनीतिक सोच र प्रतिबद्धताको अभाव भएको उनको भनाइ छ । देशको विकासमा महत्वपूर्ण योगदान गर्ने र विश्व बजारमा प्रतिस्पर्धी हुने शिक्षा अहिलेको आवश्यकता भएको उनले बताए ।

विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले कोरोना भाइरसका कारण दीक्षान्त समारोहमा सबैलाई उपस्थित गराउन नसकिएको बताए । पूर्वाधारको कमी, जीर्ण भौतिक संरचना, सीमित स्रोत साधनका बीच उच्चशिक्षा दिने महत्वपूर्ण चुनौतीपूर्ण अभिभारा विश्वविद्यालयले बोकेको उनले बताए ।

त्रिविबाट उत्पादित जनशक्तिले स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत ज्ञान, सीप र दक्षता प्रदर्शन गरी विश्वविद्यालयलाई गौरवान्वित बनाएको उनले बताए । अनुसन्धानमा बजेट वृद्धि गरिएको, सूचना प्रविधिलाई आत्मसात् गर्दै पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको, केन्द्रीय पुस्तकालयमा रहेका पाठ्यसामग्रीलाई विद्युतीकरण गरी शिक्षक विद्यार्थीसमक्ष पु¥याएको, संसारका उत्कृष्ट विश्वविद्यालयसँगको प्रतिस्पर्धामा महत्वपूर्ण उपलब्धि हासिल गरेको उनले बताए ।

विश्वविद्यालयमा सोमबार विद्यावारिधि, विषयगत उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीले मात्रै उपाधि ग्रहण गरेका छन् । अब बाँकी विद्यार्थीलाई मङ्गलबार परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट प्रमाणपत्र वितरण गर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि ३५ वटा प्रमाणपत्र वितरण काउन्टर बनाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । काउण्टरबाट उपाधिको प्रमाणपत्र नलिने विद्यार्थीले भने प्रमाणपत्र फाँटबाटै लिनुपर्ने व्यवस्था गरिएको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्