बार्सिलोना क्लबका सुपरस्टार खेलाडी लियोनल मेस्सीले कोरोनाभाइरस महामारीका कारण मैदानमा प्रशंसकहरूको अनुपस्थितिमा खेल्नु दिक्कलाग्दो भएको बताएका छन् । अभ्यास सत्रमा खेलेको जस्तो लाग्ने उनले बताए ।
‘प्रशंसक नहुँदा खेल्नु खराब अनुभव हो, यो निकै कुरूप भाव हो,’ मेस्सीले मार्का पत्रिकालाई सोमवार बताए ।
मेस्सीले ला लिगाको अघिल्लो सीजनमा सर्वाधिक गोल गरेकाले पिचिची पुरस्कार पाएका छन् ।
खाली स्टेडियममा खेल्नुपर्दा मेस्सी र बार्सा दुवैलाई गाह्रो परिरहेको छ ।
बार्सिलोनाले गत सीजनमा ११ खेल बाँकी रहँदा महामारीका कारण सीजन बीचैमा रोक्नुपरेको थियो । पछि सीजन सुचारु हुँदा खाली स्टेडियममा खेलिएको थियो र रियाल मड्रिडले उपाधि जितेको थियो ।
अनि गत अगस्ट महिनामा च्याम्पियन्स लीगको एक खेलमा बायर्न म्युनिखले बार्सिलोनालाई ८–२ को बेइज्जतीपूर्ण स्कोरले हराएको थियो । त्यतिखेर पनि स्टेडियम खाली थियो ।