
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६५ प्रतिशत केन्द्रीय सदस्य आफूहरूसँग भएकाले आफूहरू नै वैधानिक नेकपा भएको बताएका छन् ।
उनले एकतिहाइ सदस्य उपस्थित बैठकले दुईतिहाइ सदस्य थप गरेर गरिएको निर्णय आधिकारिक हुन नसक्ने बताए ।
काठमाडौंको बबरमहलमा आफूपक्षीय केन्द्रीय कमिटी सदस्यको भेलालाई मंगलवार सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोगले वैधानिकता जाँच्ने अवस्थामा आफूहरूलाई आधिकारिक नेकपा मान्नुपर्ने बताए ।
‘निर्वाचन आयोगलाई म भन्न चाहन्छु यहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य हुनुहुन्छ । केही सदस्य बाटोमा आउँदै हुनुहुन्छ । संविधान, नियम, कानून अनुसार यो वैधानिक नेकपा हो,’ प्रचण्डले भने ।
उनले संवैधानिक अंगहरू नेपालको ऐन, कानून अनुसार चल्छन् भन्नेमा आफूहरूको विश्वास रहेको बताए ।
‘बालुवाटारमा चलेको भेला वैधानिक छैन, एकतिहाइ केन्द्रीय सदस्य भएको बैठकले दुईतिहाइ थपेर गरेको बैठक वैधानिक हुँदैन,’ प्रचण्डले भने । भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू नै नेकपाको मूलधार भएको दावी गरेका थिए ।
मंगलवार नै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बालुवाटारमा बसेको थियो । प्रतिनिधिसभा विघटन भएपछि नेकपा विभाजनउन्मुख भएको छ । मंगलवार एकैदिन केन्द्रीय कमिटीको समानान्तर बैठक चलेका छन् ।