
कोरोना भाइरसको नयाँ रुपको संक्रमण दर बढेपछि बेलायतबाट हुने अन्तरदेशीय उडान बन्द गरिएको छ । साथै नेपालमा पनि बेलायतबाट आउन रोक लगाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन रोक लगाएको हो।
बेलायतको देखिएको कोरोनाको नयाँ रुपमा खतरनाक शैलीमा फैलिएको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरूलाई निर्देशन दिएको हो ।
भोलि राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि यो निर्णय लागू हुने छ ।
पछिल्लो समय बेलायतमा कोरोना संक्रमण फैलिएपछि विभिन्न मुलुकहरुले यात्रा प्रतिबन्ध लगाएका छन् । पछिल्लो एक सातायता धेरै देशहरुले बेलायतबाट आउने सबै उडानहरु रोक लगाएका छन् ।
यस्तै, आज मात्रै बेलायतबाट आएका भारतका सात जनामा नयाँ रुपमा कोरोना संक्रमण देखिएको छ । यससँगै भारतले पनि अब बेलायतबाट आउने उडानमा रोक लगाएको छ ।