
संविधानले परिकल्पना नै नगरेको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको भन्दै राजनीतिकर्मी तथा नागरिक अगुवाहरुले चर्को विरोध गरेका छन् ।
ओलीकै सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद् विघटन गरी ताजा जनादेशका लागि भन्दै नयाँ निर्वाचनको मिति जारी गर्नु पनि ठूलो घात भएको उनीहरुले बताए ।
काठमाडौं उत्तरपूर्वी नागरिक समाजले मंगलवार साँझ बौद्धमा गरेको कोण सभामा वक्ताहरुले ओलीको अवैधानिक तथा असंवैधानिक कदम विरुद्ध सबै राजनीतिकर्मी तथा पेशाकर्मी एकजुट हुनुको विकल्प नरहेको धारणा राखे ।
मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष उत्तम पुडासैनीले प्रधानमन्त्री ओलीका कारण सिङगो व्यवस्था नै सङ्कटमा परेको भन्दै ओलीको प्रतिगामी कदमको सशक्त प्रतिवाद गरिने चेतावनी दिए ।
कार्यक्रम संयोजक तथा समाजका पूर्व महासचिव कुमारराज सुवेदीले ओलीले परिवर्तनको पक्षमा भएको झुठो नाटक रच्दै झेली राजनीतिक खेल खेलेर आफ्नो निधारमा कहिल्यै नमेटिने कलङ्कको टिका लगाएको टिप्पणी गरे ।
जनता समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले खुल्लम खुल्ला प्रतिगामी कदम चालेको बताए । जापानका लागि पूर्व राजदूत डाक्टर गणेश योञ्जनले पुष ५ को कदमले मुलुक पुन राजनीतिक अस्थिरताको भूमरीमा फसेको धारणा राखे ।
मानवअधिकार तथा शान्ति समाज काठमाडौंका अध्यक्ष जगन्नाथ पुडासैनीले ओली कहिल्यै पनि सच्चा गणतन्त्रवादी नभएको उदाहरण दिँदै ओलीकै कारण लोकतान्त्रिक गणतन्त्रमा ठूलो सङ्कट आएको दाबी गरे । अधिकारकर्मी महेश आचार्यले अबका दिन अझ चुनौतिपूर्ण हुन सक्ने भन्दै सबै तह र तप्काका मान्छे आन्दोलनमा उत्रनु पर्ने आवश्यकता औंल्याए । समाजका विभिन्न पेशामा आबद्ध भएकाहरुको ¥याली जोरपाटी चोकबाट शुरु भई बौद्धमा पुगेर कोणसभामा परिणत भएको कार्यक्रम संयोजक कुमारराज सुवेदीले जानकारी दिए । सुवेदीले आगामी दिनमा अझ शशक्त आन्दोलनका कार्यक्रम ल्याइने बताए ।