
शान्ति प्रवर्द्धनको उद्देश्यसहित ‘युनिभर्सल पीस स्यान्क्चुअरी फाउन्डेसन’ स्विट्जरल्यान्डमा समेत स्थापना भएको छ। फाउन्डेसनका संस्थापक श्याल्पा तेन्जिन रिन्पोछेले समर्थक तथा शुभेच्छुकलाई सम्बोधन गर्दै सार्वजनिक गरेको पत्रमार्फत उक्त जानकारी गराइएको हो ।
रिन्पोछेका अनुसार जेनेभामा अन्तर्राष्ट्रिय मुख्यालय स्थापना गर्ने आफ्नो अवधारणाप्रति विश्वभरबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र सहयोगको प्रतिबद्धतापछि फाउन्डेसन स्थापना प्रक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो ।
पत्रमा उल्लेख भएअनुसार स्विस सरकारले फाउन्डेसनलाई आधिकारिक रूपमा परोपकारी संस्थाको मान्यता प्रदान गरेको छ । साथै, सन् २०३० सम्मका लागि कर छुट (ट्याक्स–एक्जेम्प्ट) सुविधा समेत प्रदान गरिएको जनाइएको छ । फाउन्डेसनले जेनेभामा रहेको यूबीएस (UBS) बैंकमा आफ्नो आधिकारिक बैंक खाता पनि सञ्चालनमा ल्याएको जनाएको छ।
रिन्पोछेले फाउन्डेसनको स्थापना इमानदारी, जवाफदेहिता र पारदर्शिताका उच्च मापदण्डअनुसार गरिएको उल्लेख गरेका छन्। उनका अनुसार परियोजनामा सहभागी हुन चाहने सबैले पूर्ण विश्वासका साथ योगदान गर्न सकून् भन्ने उद्देश्यले सम्पूर्ण कानूनी र प्रशासनिक प्रक्रिया पूरा गरिएको हो ।
पत्रमा फाउन्डेसन स्थापना गर्न आवश्यक कानूनी प्रक्रिया, स्विस कानुनअनुसार आवश्यक सुरक्षा निक्षेप तथा अन्य प्रारम्भिक खर्चका लागि विगत केही महिनामा लागेको रकम अमेरिकास्थित एक परोपकारी संस्थाले ऋणस्वरूप उपलब्ध गराएको जानकारी पनि दिइएको छ ।
रिन्पोछेले यसअघि विभिन्न शुभेच्छुकले प्रतिबद्धता जनाएको आर्थिक सहयोग अब उपलब्ध गराइदिन आग्रह गरेका छन् । उनले फाउन्डेसनमा प्राप्त हुने प्रत्येक योगदान अत्यन्त जिम्मेवारीपूर्वक व्यवस्थापन गरिने र सम्पूर्ण रकम युनिभर्सल पीस स्यान्क्चुअरी परियोजनाको उद्देश्य पूरा गर्न पारदर्शी रूपमा परिचालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले आर्थिक सहयोगलाई केवल दानका रूपमा नभई शान्ति, करुणा, ज्ञान र साझा मानवताको भविष्यमा गरिएको लगानीका रूपमा व्याख्या गरेका छन् ।
पत्रको अन्त्यमा रिन्पोछेले विश्वभरका करिब ८ अर्ब मानिसलाई शान्तिपूर्ण जीवनको सम्भावना साकार पार्न साझा प्रयासमा सहभागी हुन आह्वान गर्दै सहयोग, विश्वास र साझेदारीका लागि सबै समर्थकप्रति आभार व्यक्त गरेका छन् ।


