०४ असार २०८३, बिहीबार

‘म नै राज्य हुँ’ भन्ने ओलीको प्रवृत्तिले पार्टी चोइटिने भयो– प्रचण्ड

‘म नै राज्य हुँ’ भन्ने ओलीको प्रवृत्तिले पार्टी चोइटिने भयो– प्रचण्ड
फाइल फोटो

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आई एम द स्टेट’ (म नै राज्य हुँ) भन्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिका कारण पार्टी चोइटिने अवस्था आएको आरोप लगाएका छन् ।

विघटित प्रतिनिधि सभाका आफूपक्षीय सांसदहरूको संसदीय दलको बैठकलाई बुधवार बानेश्वरमा सम्बोधन गर्दै प्रचण्डले १० वर्ष संघर्ष गरेर प्राप्त उपलब्धिको अपहरण भएको समेत बताए ।

‘ओलीको कदम आश्चर्यजनक हो । १० वर्ष संघर्ष गरेर प्राप्त गरेको उपलब्धिको अपहरण भएको छ,’ प्रचण्डले भने, ‘चूनौतीपूर्ण घडीमा पनि जनताको अपेक्षा पूरा गर्न सकिएन । जनताले ठूलो पार्टी बनाउँदा पनि ‘आई एम द स्टेट’ भन्ने ओलीको प्रवृत्तिले पार्टी चोइटिने भयो ।’

प्रचण्डले संसद् नमरेको भन्दै कानूनी लडाईं, सडक संघर्ष र लोकतान्त्रिक दलहरूसँग संवादको माध्यमबाट नयाँ परिस्थिति बनाउने र अघि बढ्ने बताए ।

‘हामी जीवितै छौं भन्ने आत्मविश्वासका साथ अघि बढ्नुस्,’ विघटित प्रतिनिधि सभाका सांसदहरूलाई निर्देशन दिँदै प्रचण्डले भने ।

‘पार्टी र संसदीय दल दुवैमा हामी अगाडि छौं । हामीलाई मर्‍यो भने पनि हामी बाँचिरहेका छौं । को मर्‍यो जनताले थाहा पाइसक्नुभएको छ । देशबाहिर पनि निकै ठूलो चासोका साथ हेरिएको छ र ओलीको कदमलाई विरोध गरिएको छ,’ प्रचण्डले भने ।

सोही बैठकले प्रचण्डलाई पार्टी संसदीय दलको नेतामा चयन गरेको छ ।

बैठकमा राष्ट्रिय सभाका २४ र विघटित प्रतिनिधि सभाका ९३ गरी १ सय १७ जना सांसदको उपस्थिति रहेको दाबी प्रचण्ड–नेपाल पक्षले गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्