
आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगले तयारी थालेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार संसद विघटन गर्दै वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।
घोषित मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले तयारी शुरू गरेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले बताए । ‘निर्वाचन कार्यतालिका बनाइसकेको र टुंगो लाग्ने अवस्थामा छ,’ उनले लोकान्तरसँग भने ।
निर्वाचनमा लाग्ने बजेट खर्चको आकलन गर्ने काम समेत भइरहेको उनले बताए । ‘मतदाता नामावली अद्यावधिक गर्ने काम पनि शुरू भएको छ,’ उनले भने । २०७४ मंसिरमा चुनाव सम्पन्न गरेको आयोग फेरि ३ वर्षपछि मध्यावधि निर्वाचन गराउने तयारीमा जुटेको छ ।

निर्वाचनमा आवश्यक पर्ने धेरैजसो मतपेटिकाहरू पुरानै प्रयोग हुने आयोगले जनाएको छ । गत निर्वाचनमा प्रयोग भएर नबिग्रेका मतपेटिका लगायत साम्रगीहरू थन्किएर बसेका छन् । आयोग र जिल्लास्थित कार्यालयहरूमा रहेका मतपेटिकाहरू प्रयोगमा आउने वा नआउने कस्तो अवस्थामा छन्, बुझ्न तथ्यांक संकलनको लागि निर्वाचन आयोगले जिल्ला कार्यालयलाई चिट्ठी लेख्न लागेको उनले बताए ।
‘केही दिनमा जिल्लाको तथ्यांक आइसकेपछि थप गर्नुपर्ने कति छन् ? यकिन हुनेछ । त्यसपछि आयोगमा भएका सामग्री मौज्दातमा छन् भने त्यसैबाट वितरण गर्छौं, यदि पुगेन भने खरिद गरेर व्यवस्था गर्छौं,’ प्रवक्ता श्रेष्ठले भने । औपचारिक चिट्ठी पठाउन ढिलो हुने भए पनि जिल्लाबाट सूचना लिने काम भइरहेको श्रेष्ठले बताए ।

यसअघिका निर्वाचनमा आयोगका लागि सवारीसाधन खरिद हुने गर्थ्यो । तर यसपालिको निर्वाचनमा गाडीहरू खरिद गर्नु नपर्ने निर्वाचन आयोगले जनाएको छ । जिल्ला कार्यालयमा भएका गाडीको अवस्था र मर्मत गर्न लाग्ने खर्चबारे जानकारी गराउन निर्देशन दिइएको प्रवक्ता श्रेष्ठले लोकान्तरलाई बताए ।
‘यसपालि गाडी खरिद गर्नुपर्ने अवस्था देखिँदैन । पुराना गाडीको अवस्था के कस्तो छ ? मर्मत गर्न लाग्ने खर्चको विवरण जिल्ला कार्यलयहरूबाट मगाएका छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘हालसम्मको अवस्थामा जिल्लाबाट आएका मागहरूमा खरिद गर्नुपर्ने आएका छैनन्, पुरानालाई मर्मत गर्नुपर्ने माग आएका छन् ।’

कम्प्युटर, फोटोकपी, फ्याक्स लगायतका मशिनरी सामानहरू खरिद गर्नसक्ने भएकाले त्यसको तथ्यांक लिइराखेको अयोगले जनाएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद चर्किएपछि मध्यावधि निर्वाचनको अवस्था आएको हो । प्रचण्ड पक्षले आफूमाथि षड्यन्त्र गरेर हटाउन खोजेको भन्दै ओलीले ताजा जनादेशमा जान मध्यावधि निर्वाचन घोषणा गराएका छन् ।
नेकपाकै प्रचण्ड–नेपाल पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायतले भने संसद विघटनको विरोध गर्दै आएका छन् । संसद पुनःस्थापना हुनुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा समेत रिट परेका छन् । अदालतका रिट विचाराधीन रहेका छन् । प्रधानमन्त्री ओलीले भने संसद पुनःस्थापनामा नहुने भएकाले निर्वाचनमा होमिन आह्वान गरेका छन् ।