११ असार २०८३, बिहीबार
टिप्पणी

नयाँ सरकार गठन गर्ने प्रचण्डको अभिव्यक्तिमा कति दम, आधार के ?

नयाँ सरकार गठन गर्ने प्रचण्डको अभिव्यक्तिमा कति दम, आधार के ?

विघटित प्रतिनिधि सभाका सांसदको भेलाबाट आफूलाई नेकपा (प्रचण्ड–नेपाल पक्ष) को संसदीय दलको नेता चुनिएपछि अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले अलि अस्वाभाविक जस्तो अभिव्यक्ति दिए–राष्ट्र र जनताको अपेक्षा अनुसार काम गर्नेगरी नयाँ सरकार गठन गर्नेतर्फ मेरो ध्यान केन्द्रीत हुनेछ । राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेर नयाँ चुनावको मिति घोषणा गरिसकेको चार दिनपछि नयाँ सरकार

गठनको पहल गर्ने प्रचण्डको यस्तो अभिव्यक्ति आयो, जुन दिन संसद विघटन विरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न समेत अस्वीकार गरेको थियो ।
‘सबै राष्ट्रिय राजनीतिक दलहरु जो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन्, ती सबैलाई एकता गर्नु इमान्दारीता पूर्वक सहकार्य गर्नु । त्यो एकताको बलमा प्रतिनिधि सभालाई जिवित तुल्याउनु र राष्ट्र र जनताको अपेक्षा अनुसार काम गर्नेगरी नयाँ सरकार गठन गर्नेतर्फ मेरो ध्यान केन्द्रीत हुनेछ,’ संसदीय दलको नेता चयन भएपछि प्रचण्डले भने ।

प्रचण्डको अभिव्यक्तिप्रति स्वयम् उनी पक्षीय कार्यकर्ता अलमलमा परेका छन् भने केपी शर्मा ओली पक्षीय कार्यकर्ताले सामाजिक सञ्जालमा व्यंग्य शुरु गरेका छन् । ओली पक्षीय केन्द्रीय सदस्य महेश बस्नेतले २०६४ साल अगाडिको भित्ते राष्ट्रपति जस्तो फेसबुके प्रधानमन्त्री भएकोमा बधाई भनेर लेखेका छन् । सरसर्ती हेर्दा अहिले प्रचण्ड प्रधानमन्त्री बन्ने कुनै आधार र संकेत देखिँदैन । तर दुइपटक देशको प्रधानमन्त्री बनिसकेको र कयौँ जनालाई प्रधानमन्त्री बनाएको दावी गर्ने प्रचण्डले किन यस्तो आधारहीन कुरा गरे ?

प्रचण्ड निकट नेता भन्छन्–तीनवटा आधार छन्
प्रचण्डनिकट नेकपा केन्द्रीय सदस्य रामकुमार शर्मा प्रचण्डले सरकारको नेतृत्व गर्नसक्ने तीनवटा आधार रहेको बताउँछन् ।
शर्माको भनाइमा पहिलो आधार हो– सभामुखले सबै पार्टीको आग्रहमा प्रतिनिधि सभाको बैठक बोलाउन सक्छन् । यसरी प्रतिनिधि सभाको बैठक बस्यो भने त्यहाँबाट सरकार बन्ने भन्ने देखिन्छ । सबै राजनीतिक दलमा सहमति भएमा सभामुखले बैठक बोलाउन सक्नुहुन्छ भनेर कानून व्यवसायीले सुझाव दिएका छन् ।

प्रतिनिधि सभा विघटन भएको भोलिपल्ट अर्थात सोमवार कानून व्यवसायी र संविधानविदसँग प्रचण्ड र माधव नेपाल समूहले गरेका छलफलमा उनीहरुले प्रतिनिधिसभा विघटन नभएको र सभामुखले बैठक बोलाउन सक्ने सुझाव दिएका थिए । कानून व्यवसायीसँगको परामर्शपछि सांसदहरुको भेलामा प्रचण्डले आफूहरु (सांसदहरु) ज्यूँदै रहेको भन्दै लामो व्याख्या गरेका थिए । प्रचण्डले यही आधारमा सरकार गठन गर्छु भनेको हुनसक्ने शर्माको विश्लेषण छ ।

दोस्रो आधार– दोस्रो कुरा अदालतले निर्णय गर्ने कुरा हो । अदालतले संसद पुनःस्थापना गरिदिन सक्छ । देशको सबै राजनीतिक पार्टी, संचार माध्यम, सबै कानून व्यवसायी र आम नागरिकले प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन भनिरहेका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध परेका एक दर्जन रिटमाथि बुधवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा सुनुवाइ भयो । प्रधानन्यायाधीश राणाको इजलासले सवै रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ गर्ने आदेश गर्यो । प्रधानमन्त्री ओली र ओली पक्षीय कुनैपनि नेताले अदालतले प्रतिनिधि सभा पुनःस्थापित नगर्ने बताउँदै आइरहेका छन् । तर प्रचण्ड पक्षलाई पुनस्र्थापना हुने धेरै ठूलो विश्वास रहेको बुझ्न सकिन्छ । सर्वोच्चले संसद पुनःस्थापना गरिदिएमा प्रतिनिधि सभाबाट ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्ने प्रचण्डको दोस्रो विकल्प हुने शर्माको विश्लेषण छ ।

तेस्रो विकल्पसडक संघर्षबाट ओलीलाई राजीनामा गर्न बाध्य पार्ने । ओलीले चुनाव गराउँछन् भन्नेमा कसैलाई विश्वास छैन । यस्तो अवस्थामा अन्य दलको समेत सहभागितामा आन्दोलनमार्फत सरकार फेर्ने ।
शर्माले विश्लेषण गरेको तेस्रो विकल्पबाट सरकार हटाउने सम्भावना पनि क्षीण छ । किनभने प्रतिनिधि सभा विघटन विरुद्ध कांग्रेस समेत भित्रैदेखि आन्दोलनमा आउने सम्भावना कम छ । ओली प्रधानमन्त्री बन्नुअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा सत्ता साझेदार रहँदा रहँदै ओलीसँग चुनावी तालमेलमा गएर धोका दिएको कांग्रेसले बिर्सिसकेको छैन । सायद कांग्रेसलाई विश्वासमा लिन होला, प्रचण्डले ‘इमान्दारीतापूर्कक सहकार्य गर्ने’ भनेर प्रतिक्रिया दिएका छन् ।

तर कांग्रेस आन्दोलनमा होमिने मनोविज्ञानमा छैन । मंगलवार शुरु केन्द्रीय समिति बैठकमा सदस्यहरुले प्रचण्ड या ओली कसैलाई सहयोग नगर्न सभापति देउवामाथि दवाव सिर्जना गरेका छन् । बाहिर विरोध गरेपनि चुनावमा गएर पार्टीलाई बलियो बनाउनु पर्ने राय कांग्रेसमा छ ।

बुधवार राति प्रसारित एक टेलिभिजन अन्तवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भित्रभित्रै दलहरुले उम्मेदवार छान्न थालिसकेको भन्दै कांग्रेस आन्दोलनमा नआउने विश्वास गरेका थिए । ‘महाधिवेशन आउन लागेकोले कांग्रेसमा को क्रान्तिकारी देखिने भन्ने होडले होला, नत्र चुनावको विरोध गर्ने कुरा आउँदैन । रामचन्द्र पौडेलले चुनाव हारिने भएकाले विषयान्तर गरेर पार्टी सभापति बन्नको लागि होला, क्रान्तिकारी बन्न खोजिरहनु भएको छ,’ ओलीले टिप्पणी गरे ।

मनको लड्डु घ्यूसित खानुस् !
नयाँ सरकार बनाउन ध्यान केन्द्रीत गर्ने भन्ने प्रचण्डको अभिव्यक्ति बारे प्रतिक्रिया लिन खोज्दा ओली पक्षीय एक केन्द्रीय सदस्यले हास्यास्पद भन्दै टिप्पणी गर्न पनि रुचाएनन् । ‘मनको लड्डु घ्यूसित खान पाइयो’ उनले यत्ति टिप्पणी गरे ।

प्रचण्ड नेपाल पक्षले प्रतिनिधि सभा पुनःस्थापना हुने विश्वास गरिरहँदा सभामुख अग्नि सापकोटाले बुधवार मात्र विज्ञप्ति निकालेका छन्, विघटनपछि । र, बुधवार संसद सचिवालयले विज्ञप्ति प्रकाशित गरी अविश्वासको प्रस्ताव दर्ताको समय पौष ५ गते दिउँसो साढे ३ बजे दर्ता भएको प्रष्टिकरण दिएको छ । यसअघि बिहान १० बजेर ५० मिनेटमा अविश्वासको प्रस्ताव दर्ता भएको भनेर प्रचार गरिएको थियो । संसद विघटनको विज्ञप्ति शीतल निवासबाट साढे २ बजे नै आइसकेको थियो । संसद विघटनपछि सभामुखको निर्णय विरुद्ध सचिवालयले छुट्टै विज्ञप्ति निकालेको अवस्थामा, अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक बोलाउने र त्यहाँबाट नयाँ सरकार बनाउने योजना त्यति भरपर्दो देखिँदैन ।

salt training

कमेन्ट गर्नुहोस्