
अभ्यासका क्रममा लडेर घाइते भएका बास्केटबल खेलाडी प्रदीप गुरुङलाई उपचारार्थ २ लाख रुपैयाँ सहयोग संकलन भएको छ । उनकोे अहिले बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।
बास्केटबल संघ धरान र सुनसरीद्वारा संयुक्त रूपमा मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरी उनको उपचारका लागि नगद संकलन गरिएको हो ।
संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा र जिल्ला अध्यक्ष नारायण सुवेदीले बुधवार खेलाडी गुरुङलाई संकलित रकम हस्तान्तरण गरे ।
सोही अवसरमा धरान उपमहानगरपालिका–१८ का वडाध्यक्ष प्रवीण राईले १५ हजार रुपैयाँ र एन्फाका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राईले १० हजार पनि सहयोग गरेका थिए ।
नेपाल बास्केटबल लिगबाट १० हजार रुपैयाँ, झापा बास्केटबल संघबाट ५ हजार, हिमालयन मेगा कलेजबाट ५ हजार र होप धरानले संकलित २७ हजार ४१० रुपैयाँ पनि खेलाडी गुरुङलाई हस्तान्तरण गरिएको बास्केटबल संघ धरानका सचिव विकास चाम्लिङले जानकारी दिए ।
संघका केन्द्रीय उपाध्यक्ष लामाले खेलाडी घाइते हुँदा राज्यले उपचारको प्रबन्ध गर्नुपर्छ भनेर ध्यानाकर्षण गराउनका लागि सहयोग जुटाउन खेल आयोजना गरिएको बताए । कार्यक्रममा बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले राष्ट्रका लागि खेल्ने खेलाडी घाइते हुँदा राज्यले नै उपचारको प्रत्याभूति गर्नुपर्ने बताए ।
सातौं र आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट खेल प्रस्तुत गर्न सफल २८ वर्षीय गुरुङ प्रदेश नम्बर १ का उदीयमान खेलाडी हुन् । उनको दाहिने घुँडाको एन्टिरियर क्रुसिएट लिगामेन्ट (एसिएल) पूर्णरूपमा च्यातिएको छ ।
मिडियल मिनिस्कस र लेटिरियल मिनिस्कसको भाग पनि केही च्यातिएको चिकित्सकले जनाएका छन् । खेलाडी गुरुङको शल्यक्रिया तथा लिगामेन्ट प्रत्यारोपण गर्न कम्तीमा ३ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।