
प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्न नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवामाथि दबाब सिर्जना गर्ने भएको छ ।
प्रतिनिधिसभा विघटन र चुनाव घोषणापछि पार्टीको भावी रणनीति बनाउन कांग्रेस केन्द्रीय समितिको बैठक मंगलवारदेखि काठमाडौंमा शुरू भएको छ ।
बिहीवारको बैठकमा आन्दोलनका कार्यक्रम ल्याउन दबाब दिन बैठकअघि पौडेल पक्षले छुट्टै भेला आयोजना गरेको छ ।
राजधानीको अनामनगरमा जारी भेलामा महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, गुरुराज घिमिरे, रामकृष्ण यादव, सरिता प्रसाई, बलबहादुर केसी लगायत उपस्थित छन् ।
भेलामा सहभागी एक केन्द्रीय सदस्यले बिहीवारको बैठकबाट आन्दोलनका कार्यक्रम घोषणा गर्न दबाब दिइने बताए ।
मंगलवारको बैठकमा पौडेलले प्रतिनिधिसभा विघटनको गैरसंवैधानिक कदमविरुद्ध आन्दोलन गर्ने प्रस्ताव गरेका थिए । सभापति देउवा पक्ष भने प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको फैसलापछि निर्णय गर्नुपर्ने पक्षमा छ ।
देउवा पक्षीय कतिपय सदस्यहरू भने निर्वाचन तयारीमा लाग्नुपर्ने पक्षमा देखिएका छन् ।