
गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली समूहमा गएपछि समीकरणमा फेरबदल आएको छ ।
बादल ओली क्याम्पमा गएसँगै दुवै पक्षबीच नेकपा सचिवालयका चार–चार जना सदस्य भएका छन् ।
सचिवालयमा रहेका ९ सदस्यमध्ये उपाध्यक्ष वामदेव गौतम बिहीवारसम्म कतै खुलेका छैनन् ।
प्रधानमन्त्री ओली समूहमा ओली स्वयं, महासचिव विष्णु पौडेल तथा ईश्वर पोखरेल र थापा गरी चारजना भएका छन् ।
ओली समूहमा सहभागी हुने थापा पूर्वमाओवादी खेमाका प्रभावशाली नेता हुन् । उनी माओवादी केन्द्रमा पार्टी महासचिव थिए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल समूहमा झलनाथ खनाल र रामबहादुर थापासहित चारजना छन् ।
उपाध्यक्ष गौतम निर्णायक भएका छन् । उनी जता लाग्छन् सचिवालयमा सो समूहको बहुमत हुनेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको केन्द्रीय समिति बैठकमा बादल सहभागी भएका हुन् ।
यसअघि उनले आफ्नो कित्ता क्लियर गरेका थिएनन् ।
पुष्पकमल दाहाल प्रचण्डले मंगलवार बसेको आफूपक्षीय केन्द्रीय समिति सदस्यको बैठकमा अर्को दिनको बैठकमा बादल सहभागी हुने बताएका थिए ।
पूर्वमाओवादी खेमाका टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा यसअघि नै ओली पक्षको बैठकमा सहभागी भएका थिए ।
बादलले कित्ता क्लियर गरेसँगै नेकपा सचिवालयमा रहेका ९ मध्ये ओली समूहमा ४ जना खुलेर लागेका छन् ।
उपाध्यक्ष वामदेव गौतमले भने बिहीवारसम्म कुनै कित्तामा लागेका छैनन् ।