चीनका राष्ट्रपति सी चिनफिङ विश्वका अत्यन्त शक्तिशाली नेतामध्ये एक हुन् ।
विश्वको इतिहास हेर्दा प्रख्यात शासक र चिन्तकहरूमा कथा हाल्ने क्षमता पाइन्छ । चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग कथा भन्ने अद्भुत क्षमता छ ।
यानानमा पार्टीको सातौं सम्मेलनमा तत्कालीन अध्यक्ष माओ चतुङले पहाड हटाउने मूर्ख बूढोको कथा बताएका थिए । उक्त कथाअनुसार, एकजना मूर्ख बूढोले पहाड खन्ने प्रयास दिनदिनै गर्ने गरेको थियो । उसको मेहनत देखेपछि ईश्वरले बूढोको घरअगाडि रहेका दुई पहाड हटाउनका लागि एक दैवी प्राणी पठाएका थिए ।
यस कथामार्फत अध्यक्ष माओले क्रान्तिलाई फाइदा पुगुन्जेल ईश्वरको मुटुलाई पनि हल्लाउन चिनियाँ कम्युनिस्ट पार्टी सक्षम रहेको स्पष्ट पारेका थिए ।
अध्यक्ष माओका लागि यो ईश्वर भनेको सबै चिनियाँ नागरिक हुन् भने दुई पहाड भनेको साम्राज्यवाद र सामन्तवाद हुन् ।
महासचिव तथा राष्ट्रपति सी चिनफिङ पनि कथा भन्न माहिर छन् । कथावाचनमार्फत उनी गहिरो अर्थ दिन तथा श्रोतालाई प्रभावित पार्न दक्ष छन् । संसद्को बैठकलाई सम्बोधन गर्दा, अनुसन्धानका बेलामा कुराकानी गर्दा, अन्य राज्यको भ्रमणमा सम्बोधन गर्दा र पत्रिकामा लेख छपाउँदा उनको यो दक्षता देख्न सकिन्छ ।
उनका कथाहरू ठोस र स्पष्ट हुन्छन् । तिनलाई सजिलै बुझ्न सकिन्छ र तिनको अर्थ गहिरो हुन्छ अनि तिनमा चिनियाँ बुद्धिमत्ता र चिनियाँ शक्तिको प्रकाश भेटिन्छ ।
ती कथाहरूले सीको नेतृत्व शैलीलाई स्पष्ट पार्ने मानवीय सचेतना तथा दार्शनिक सोचलाई प्रतिबिम्बित गर्छन् ।
एउटा कथा एक दर्जन तर्कभन्दा राम्रो हुन्छ भन्ने गरिन्छ । सन् २०१४ र २०१४ मा चीनका युवा प्रतिनिधिहरूसँग कुराकानी गर्दै सीले समयको सदुपयोग गर्न तथा सकेसम्म धेरै पढ्न उत्प्रेरित गरेका थिए । आफूले अध्ययनमा बिताएको समयका बारेमा उनले बताएका थिए ।
शान्सी प्रान्तमा शिक्षित युवकका रूपमा रहँदा उनले कहिले पनि पढ्न छोडेनन् । पहाडमा भेडा चराउँदा वा खेत जोत्दा पनि उनले किताब पढ्ने गरेका थिए ।
द पिपुल्स डेलीले एकपटक एउटा लेख प्रकाशन गरेको थियो । त्यसको शीर्षक थियो आस्थाको स्वाद । त्यसमा चेन वाङदाओले द कम्युनिस्ट मेनिफेस्टोलाई चिनियाँ भाषामा अनुवाद गर्दाखेरीको घटनाको कथा थियो ।
चेनको ध्यान अत्यन्तै धेरै एकत्रित भएकाले मसीलाई खैरो चिनी ठानेर भूलवश खाइदिएछन् । यस कथामा कम्युनिस्टहरूको मर्म र आस्थाको मीठो स्वाद भेटिन्छ । पार्टीका सदस्य र अधिकारीहरूलाई आफ्नो आदर्श कायम राख्न तथा आस्था राखिरहनका लागि प्रेरित गर्न सी चिनफिङले पार्टीको इतिहासको यो मार्मिक कथा बताउने गरेका थिए ।
चीन र फ्रान्सबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठका अवसरमा सन् २०१४ मा गरेको सम्बोधनमा सीले भने, ‘नेपोलियन बोनापार्टले चीनलाई सुतेको सिंहसँग तुलना गरेका थिए र ऊ जागेमा उसले संसार हल्लाउनेछ भनेका थिए । अहिले चिनियाँ सिंह जागेको छ तर यो शान्तिपूर्ण, मैत्रीपूर्ण र सभ्य सिंह हो ।’
यस्तो हेर्दा विपरीतार्थक लाग्ने तर अर्थपूर्ण कथाले ‘जोखिमपूर्ण चीन सिद्धान्त’ (अर्थात्, संसारका लागि चीन जोखिम हो भन्ने पश्चिमीहरूको आक्षेप) लाई चतुरताका साथ काटेको र चिनियाँ सपनाको महत्त्वका विषयमा संसारलाई बताएको थियो ।
एउटा चिनियाँ भनाइ छ, ‘राम्रो कथा भन्दा तपाईंले आधा प्रयास गरेर दोब्बर परिणाम पाउनुहुनेछ ।’ चीनको उम्दा परम्परागत संस्कृति रंगीचंगी कथा र कहानीहरूले भरिएको छ । हामीले ती कथालाई विभिन्न प्राचीन चिनियाँ सिद्धान्तको दृष्टिकोणबाट मात्र पढ्न मिल्दैन, तिनलाई लोकप्रिय कथानकको दृष्टिकोणबाट पनि हेर्नुपर्ने हुन्छ ।
यी कथाहरू अजरअमर छन् र यिनले पुस्तौं पुस्ताको सोच र जीवनलाई प्रभावित पारेका छन् । कथावाचक र श्रोताबीच तत्कालै भावनात्मक सम्बन्ध बनाउनले जादूयी शक्ति कथामा हुन्छ र यसले वाचक तथा श्रोताबीच विचारधारात्मक समता पनि ल्याउँछ । कुनै पनि विचारलाई अभिव्यक्त गर्न अमूर्त अवधारणाभन्दा पनि कथानकको क्षमता बढी हुन्छ ।
न्यारेटिङ चाइनाज गभर्नेन्सबाट