१० असार २०८३, बुधबार

दाहाल–नेपाल समूहद्वारा सडक आन्दोलनको घोषणा

पुस १०, २०७७
दाहाल–नेपाल समूहद्वारा सडक आन्दोलनको घोषणा

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र प्रतिगामी षड्यन्त्र भन्दै त्यसविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले सडक आन्दोलनमा उत्रिने घोषणा गरेको छ । केन्द्रीय कमिटीको बिहीबारको बैठकले पहिलो चरणको कार्यक्रमअन्तर्गत आउँदो १४ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

आन्दोलन परिचालन कमिटीको संयोजकमा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई तोकिएको छ । उनको नेतृत्वमा २ हजार ५ सय १ सदस्यीय केन्द्रीय आन्दोलन परिचालन कमिटी हुनेछ ।

बैठकले शुक्रबार बिहान साढे ९ बजे माइतीघरमा केन्द्रीय सदस्य र सांसदहरूको उपस्थितिमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यसपछि १२ बजे उक्त समूह आफ्नो आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुग्नेछ । आफ्नो पक्ष बहुमतमा रहेको यसअघि नै जानकारी गराएको दाहाल–नेपाल समूह त्यसविरुद्ध षड्यन्त्र नहोस् भनेर दबाब दिन आयोग जान लागेको हो ।

देशभर आन्दोलन परिचालन र पार्टीका गतिविधि सक्रिय पार्न केन्द्रीय कमिटी बैठकले प्रदेश, जिल्ला र वडास्तरसम्मका भेला आयोजना गर्ने निर्णय गरेको छ । निर्णयअनुसार पुस ११ गते काठमाडौंमा सबै प्रदेशहरूको समन्वयात्मक बैठक हुनेछ । उक्त बैठकले १४ गतेको प्रदर्शनको तयारी र तल्लो निकायसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे कार्यकर्तालाई प्रशिक्षित गर्नेलगायत रणनीति तय गर्नेछ । बैठकले आउँदो २० गतेसम्म सबै प्रदेश र गाउँपालिकास्तरका भेला सम्पन्न गरिसक्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । त्यस्तै २५ गतेसम्म वडास्तरका भेला आयोजना हुने छन् ।

पार्टीका जनवर्गीय संगठन र मोर्चाको भेला आउँदो १४ गतेको प्रदर्शनअघि नै गरिसक्ने बैठकले निर्णय गरेको छ । पहिलो चरणको विरोधको यो अवधिमा स्थानीयस्तरमा पनि पार्टी कमिटीहरूले आ–आफ्नो ढंगले विरोधका कार्यक्रम आयोजना गर्न सक्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिलो चरणको आन्दोलनपछि अझ कडा कार्यक्रमसहित दोस्रो चरण घोषणा हुनेछ ।

केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य र प्रदेश कमिटीका पदाधिकारीहरूलाई आ–आफ्नो प्रदेश र कार्यक्षेत्रमा जान निर्देशन दिएको छ । बैठकले पार्टीको महासचिव, स्थायी कमिटी, केन्द्रीय निकाय, जिल्ला कमिटीलगायत संगठनको कार्ययोजना तय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ । स्थायी कमिटीले तय गरेको कार्ययोजनाका आधारमा पार्टीका थप रणनीति र कार्यक्रमहरू तय हुनेछन् ।

दाहाल–नेपाल समूहले महासचिवलगायत ओली समूहमा रहेका नेताहरूका कारण रिक्त पदहरूमा कसलाई चयन गर्ने भन्ने निर्णय गरेको छैन । अहिले महासचिवलगायतको चयनका एजेन्डामा आफूहरू प्रवेश नै नगरेको श्रेष्ठले जानकारी दिए । पार्टीभित्रको सर्वसम्मत र कमिटीको विधिवत् निर्णयका आधारमा सबै विषय टुंगो लगाउने उनले बताए ।

बिहीबारको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीले मुलुकमा २०१७ सालको जस्तो प्रतिक्रान्ति गर्न खोजेको आरोप लगाए । कम्युनिस्ट पार्टीलाई कमजोर बनाउने योजनाअनुसार ओलीले काम गरेको उल्लेख गर्द दाहालले त्यस्ता सबै हर्कतलाई समाप्त पार्ने चेतावनी दिए । ‘२०१७ सालको जस्तो प्रतिक्रान्ति ल्याउन खोजिएको छ, हाम्रा उपलब्धिको हत्या गरिएको छ, अपहरण गरिएको छ, हामी मर्दै नमरेकालाई मरेको भनिएको छ,’ बैठकलाई सम्बोधन गर्दै दाहालले भने ।

अध्यक्ष दाहालले आफूहरूको पार्टी नै वैधानिक पार्टी भएको दाबी गरे । ओली समूहलाई अवैधानिक र गुटको संज्ञा दिँदै दाहालले त्यस्तो गुटलाई छाडेर आफ्नो पार्टीमा आउन सबैलाई अपिल गरे । उनले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई पनि संविधान र कानुनमा टेकेर न्यायपूर्ण फैसला गर्न अनुरोध गरे । ‘सर्वोच्च अदालत र निर्वाचन आयोगले संविधान कानुनअनुसार फैसला गरोस्, कुनै पनि षड्यन्त्रलाई सफल हुन नदिइयोस्,’ अध्यक्ष दाहालले भने ।

बैठकमा दाहालले अहिले तटस्थ बसिरहेका वामदेव गौतमको खबर पनि सुनाएका थिए । ‘वामदेवजीसँग छलफल भइरहेको छ, सकारात्मक संकेत दिनुभएको छ,’ उनले भने । उनले ओली समूहमा लागेका २३ केन्द्रीय सदस्यहरू आफ्नो पक्षमा फर्किएको दाबी गरेका थिए । उनले रामबहादुर थापालाई ल्याउन नसके पनि उनको समूहका अन्य नेताहरू आफूसँगै रहेको बताएका थिए । १०० जना केन्द्रीय सदस्य लिएर ११०० घोषणा गरी ओली समूहले नाटक रचना गरेको दाहालको भनाइ थियो ।

बैठकमा अर्का अध्यक्ष माधव नेपालले एकीकृत पार्टीविरुद्धका सबै प्रकारका षड्यन्त्रलाई पराजित गर्ने बताए । उनले पार्टीलाई एकताबद्ध बनाएर असंवैधानिक कदमविरुद्ध संघर्षमा उत्रिने बताए । उनले आफ्नो पार्टीलाई क्रान्तिकारी उद्देश्यबाट विचलित नगराई सञ्चालन गर्ने दाबी गरे । बैठकपछि प्रवक्ता श्रेष्ठले प्रदेशसभासमेत विघटन गर्न सक्ने प्रधानमन्त्री ओलीको संकेतबारे प्रतिक्रिया दिँदै यस्तो षड्यन्त्र सफल नहुने बताएका थिए । ‘असंवैधानिक कदमको विरोध गर्दा धम्की आउँछन् भने हामी प्रतिवाद गर्छौं,’ उनले भने । बैठकको समापनमा नेताहरूले प्रतिनिधिसभा विघटनको संवैधानिक कदम असफल पार्ने दाबी गर्दै ‘प्रतिगामीषड्यन्त्र मुर्दावाद’ को नारा लगाएका थिए ।

मदन सम्झँदै बल्खुमा 

केन्द्रीय कमिटी बैठकपछि अध्यक्ष दाहाल, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, अमृत बोहरालगायतका नेताहरू बिहीबार बल्खुस्थित मदन भण्डारीको सालिकमा पुगेर माल्यार्पण गरेका थिए । ओली समूहले दाहाल–नेपाल समूहलाई पूर्वमाओवादी समूहका रूपमा मात्र चित्रण गर्न थालेपछि त्यसलाई चिर्न उनीहरू तत्कालीन एमालेको पुरानो कार्यालयमा रहेको मदनका सालिकमा माल्यार्पण गर्न पुगेका थिए ।

‘हाम्रो पार्टीको बैठकले एकताको प्रस्ताव पनि पारित गरेको छ,’ माल्यार्पणपछि अध्यक्ष दाहालले भने, ‘मुलुकभरका सच्चा कम्युनिस्टहरूबीच एकता आवश्यक छ भन्ने सन्देश दिनका लागि पनि हामी मदन भण्डारीलाई सम्झँदै यहाँ आएका हौं ।’

गत वर्ष आफ्नै नेतृत्वमा बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले एमालेको पुरानो कार्यालय रहेको स्थानमा कम्युनिस्ट भाव झल्कने कार्यालय भवन बनाउने निर्णय गरेको स्मरण पनि दाहालले गरे । अहिले एमालेमा बसेर लामो समय महासचिव चलाएका नेता माधवकुमार नेपाल अध्यक्षमा चयन भएको सन्दर्भ परेकाले पनि बल्खुमा आएको जानकारी दाहालले दिए । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्