
काठमाडौं, ३ जेठ – चुनावी मैदानमा उत्रँदै गर्दा साझा पार्टीका उम्मेदवार किशोर थापाले भनेका थिए काठमाडौंका मतदाता निकै शिक्षित छन्, १ लाख मत ल्याएर जित्छु ।
वैशाख ३१ गते निर्वाचन भएपछि देशभर मतगणनाको कार्यक्रम चलिरहेको छ । काठमाडौंमा पनि सोमवार ढिलो गरेर मतगणना सुरु भइसकेको छ ।
एक लाख ९० हजार मत खसेको काठमाडौंमा अहिल्यै यो उम्मेदवारले जित्छ भनेर विश्लेषण गर्नु मुर्खता हुन सक्छ । तर काठमाडौंको मत गणनाले एउटा संकेत दिएको चाहिँ पक्कै पनि हो ।
अहिले सम्म एमालेका विद्या सुन्दर शाक्यले २ सय ४३ मत ल्याएका छन् । उनको मत हेर्दा काठमाडौंमा एमाले र राप्रपाको गठबन्धनमा बैमान नभएको अनुमान गर्न सकिन्छ ।
उनले मतगणनामा अग्रता कायम गरिरहेका छन् । कांग्रेसका राजुराज जोशीले १ सय ५३ मत ल्याएका छन् । कांग्रेस एमालेको यसरी भोट आउनु स्वभाविक हो ।
लामो संघर्षबाट स्थापित भएका ठूला पार्टीका ठूला सहरमा भोट बैंक छन् । तल्लो तहको स्थानीय निकायमा समेत ठूला पार्टीको संगठन छ । त्यसैले अझैपनि एमाले कांग्रेस मध्येकै उम्मेदवारले काठमाडौंको चुनाव जित्नेछन भनेर धेरैले विश्लेषण गरेका छन् । त्यो स्वभाविकनै हो । सायद यी दुई मध्येकै एकले चुनाव जित्ने छन् ।
तर, किशोर थापाले भनेझैं काठडौंका मतदाता साँच्चै शिक्षित रहेछन् । दशकौं औं वर्ष पहिले चुनाव चिन्ह पाएका कांग्रेस एमालेले ल्याएको मतलाई काठमाडौंका नयाँ दुई जना उम्मेदवारले पछ्याउनुलाई महत्वका साथ हेरिएको छ ।
चुनावी दौरानमा साझा पार्टीका किशोर थापा र विवेकशील पार्टीकी रञ्जु न्यौपानेले निर्वाचन भन्दा एक हप्ता अघि मात्रै चुनाव चिन्ह पाएका हुन् । निर्वाचन आयोगले उनीहरुलाई दलको उम्मेदवारको रुपमा चुनावमा लड्न दिएन् ।
क्यामेरा लिएर आएका थापा र स्टकोट लिएर आएकी न्यौपानेले ठूला दलका उम्मेदवारलाई टक्कर दिइरहेका छन् ।
एमालेका उम्मेदवारले दुई सय ४३ भोट ल्याउँदै गर्दा साझाका किशोर थापाले १ सय ६९ मत ल्याएका छन् । उनी भन्दा पछि कांग्रेसका उम्मेदवार जोशी छन् । उनले एक सय ५३ मत ल्याइरहेका छन् । जोशीको तल न्यौपाने छिन् । माओबादी र नयाँ शक्तिका उम्मेदवार धेरै तल छन् ।
यसले के स्पष्ट देखाउँछ भने एक हप्ता अघि मात्रै चुनाव चिन्ह पाएका नयाँ दुई अनुहारको मतलाई हेर्दा नेपालीले बैकल्पिक राजनीतिक शक्तिको खोजि गरिरहेका छन् । तर अहिले सम्म कुनैपनि वैकल्पिक शक्तिको उदय राम्रोसँग नभइसकेकोले यसपालीको चुनावमा पनि मुख्य तीन ठूला दलको नै बर्चस्व हुने धेरैको विश्लेषण छ । किनकी नयाँ भनिएका शक्तिहरु हल्का प्रचारमा लागेका छन् । संगठन निर्माण गरेका छैनन् ।
(समाचारमा उल्लेखित तथ्यांक मंगलवार विहान साढे ११ बजेको हो ।)