भक्तपुर, २ जेठ –भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले खाता खोलेको छ । भक्तपुर नगरपालिकाको वडा नम्बर १ मा नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीको प्यानलनै विजयी भई खाता खोलेको हो ।
खत्रीले एक हजार ३ सय ७६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पवन भुजुले ५ सय ४ मत ल्याए । एमालेका नारायणसुन्दर सिन्ताकलले ४ सय ३८ मत ल्याएका थिए । महिला सदस्यमा नेमकिपाका गङ्गालक्ष्मी बमनु, सदस्यमा विश्वराज शिल्पकार र सूर्यप्रसाद श्रेष्ठ विजयी भएका छन् ।
पछिल्लो मतगणना परिणाम अनुसार भक्तपुरको नगरप्रमुखमा नेमकिपाका सुनिल प्रजापतिले एक हजार ५ सय ९७ र उपप्रमुखमा रजनी जोशीले एक हजार ५ सय ९२ मत ल्याई अग्रता कायम राख्नुभएको छ भने नेपाली काँग्रेसका राम कासुलाले ५ सय २४ र गङ्गा अवालले ५ सय ३ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका अष्ट कवेको अग्रता कायम नै रहेको छ । मध्यपुरथिमि–१ को दुईहजार ९ सय ३७ मतमध्ये एक हजार ७ सय ५० मतको गणना हुँदा कवेले ८ सय ७७ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको हो । नेकपा (एमाले)का मदनसुन्दर श्रेष्ठले ७ सय ६ मत ल्याई कवेलाई पछ्याउँदैछन् ।
उपप्रमुखमा काँग्रेसका अञ्जना मधिकर्मीले ७ सय ८२ र नेमकिपाका केदार खड्काले ४ सय ८५ मत प्राप्त गर्नुभएको छ ।