०१ असार २०८३, सोमबार

घरपालुवा गाईभैंसीमा भँडार फर्कने समस्या बढ्यो

पुस १३, २०७७
घरपालुवा गाईभैंसीमा भँडार फर्कने समस्या बढ्यो

गाईभैंसीको भँडार (भ्रुण रहने स्थान) फर्कने समस्या कञ्चनपुरमा बढ्दै जान थालेको छ ।

गाईभैंसी ब्याउनुभन्दा अगाडि, ब्याउने बेला र ब्याएको ६ महिनासम्म भँडार फर्कने समस्या ल्याएर पशु सेवा केन्द्रमा पुग्ने पशुपालको संख्या बढ्दो रूपमा रहेको छ ।

भँडार फर्कने समस्या विगतको तुलनामा ब्याउने गाईभैंसीमा १० देखि १५ प्रतिशतसम्म बढेको देखिएको छ । 

विगतमा यो समस्या १ प्रतिशत मात्रै रहेको पशु विज्ञको भनाइ छ । ५ वर्षयतादेखि यस समस्याले विकराल रूप लिँदै आएको छ ।

गाईभैंसी ब्याउनुअघि र पछिको समयमा मात्रै देखिँदै आएको भँडार खस्ने समस्या पशुले गर्भधारण गरेको ३ महिनापछिको समय र ब्याएको ६ महिनापछि देखिन थालेपछि पशुपालक निकै चिन्तित हुन थालेका छन् ।

‘ब्याएको ३ महिनापछि मात्रै भैंसीमा भँडार फर्कने समस्या देखापर्‍यो,’ झलारीका पशुपालक अंकबहादुर ऐरले भने, ‘भैंसीमा कहिल्यै यस्तो समस्या देखिएको थिएन । पहिलो पटक देखियो । पशु प्राविधिकको सहयोगमा भँडारलाई पुरानै ठाउँमा फर्कायौं ।’
 
भँडार फर्कने समस्या भएका दुधालु गाईभैंसीलाई पशुपालकले भारतीय व्यापारीलाई सस्तोमै बेच्ने समेत गरेका छन् । यसबाट पशुपालकले निकै घाटा व्यहोर्नुपरेको छ । पछिल्लो समय रासायनिक मल र विषादीको अत्यधिक प्रयोग गरेको घाँस ब्याउने र ब्याइसकेका गाईभैंसीलाई खुवाउन थालिएपछि यसले भँडार फर्काउने समस्यालाई बढाएको शुक्लाफाँटा नगरपालिकाको पशु शाखाका पशु विकास अधिकृत नारायणप्रसाद भट्टले बताए ।

‘पहिले नगन्य मात्रामा मात्रै यस्तो समस्या देखिने गरेको थियो,’ उनले भने, ‘हाल हप्तामा १ जना पशुपालक यो समस्या लिएर पशु शाखामा उपचारका लागि पुग्ने गरेका छन् ।’ पोटासियम पदार्थ बढी भएको धानको ब्राण्डलाई चारोका रूपमा खुवाउँदा समेत यो समस्या निम्तिएको उनको भनाइ छ ।
  
इस्ट्रोजन पदार्थ बढी भएको घाँसपात खुवाएमा ढुसीपरेको दाना खुवाएमा, पाठेघरमा असजिलो भई पशु बढी कनेमा, पशुको पछिल्लो भाग ओरालो भएमा, बाच्छाबाच्छी ठूलो भएमा, पाठेघरभित्रको बसाई नमिलेमा, पाठेघरको मुख पूर्णरुपमा नखुलेमा र उमेर नपुग्दै पशु ब्याउने भएमा भँडार खस्ने समस्या देखिने गरेको जनाइएको छ । आन्तरिक परिजीवी, कुपोषण, कब्जियत र रक्तअल्पताका कारणलेसमेत भँडार खस्ने समस्या देखिने गरेको भेटेनरी अधिकृत रामप्रसाद भट्टले जानकारी दिए ।

‘पहिला यो समस्या फाट्टफुट्ट रूपमा मात्रै देखिने गरेको थियो,’ उनले भने, ‘हाल व्यावसायिकरूपमा पशुपालन हुन थालेपछि बढी देखिन थालेको छ ।’ 

यस्तो लक्षण देखाउने पशुलाई बस्ने ठाँउ अगाडिकोभन्दा पछाडिको भाग अग्लो बनाउने, हरियो घाँस ओइलाएपछि मात्रै दिने, खानेकुरा दिँदा एकैपटक टन्न गरेर नदिने गर्नुपर्दछ । भँडार फर्कने समस्या देखिन थालेपछि पशु प्राविधिकसँग सल्लाह लिने वा पशु प्राविधिक बोलाएर समस्या समाधानका लागि प्रयत्न गर्नुपर्ने हुन्छ । सालको राम्रोसँग व्यवस्थापन गर्न नसक्दासमेत कहिलेकाहीँ भँडार फर्कने समस्या हुने भएकाले होसियारीपूर्वक साल निकाल्नु पर्दछ ।

पशुले साल आफैं नझार्दा पशुपालकले आफैं बलगरी साल तान्दा समेत भण्डारण फर्कने समस्या हुने गरेको पाइएको पशु प्राविधिकको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्