
गण्डकी प्रदेशमा नेकपा संसदीय दलको २ फरक बैठक बोलाइएको छ ।
नेकपाका ओली निकट र प्रचण्ड–माधव निकट पक्षका सांसदको छुट्टाछुट्टै बैठक बोलाइएको हो ।
प्रदेश सभाका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्रचण्ड–माधव पक्षको बैठक जारी रहेको बताए ।
उनका अनुसार सभामुखबाहेक बैठकमा पूर्व माओवादीसहित १२ सांसद उपस्थित छन् । सभामुख नेत्रनाथ अधिकारी पदीय मर्यादा हिसाबले उपस्थित नभएका हुन् ।
ओली पक्षको प्रदेश कमिटीको बैठक जारी छ । बैठक सकिएपछि संसदीय दलको बैठक बस्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । प्रतिनिधिसभा विघटन असर अन्य प्रदेशमा झैं गण्डकीमा पनि देखिएको छ ।
प्रदेशमा मुख्यमन्त्रीविरुद्ध तत्काल अविश्वास प्रस्ताव आउने सम्भावना कम छ । मुख्यमन्त्रीलाई ३ सांसद रहेको राष्ट्रिय जनमोर्चाको समर्थन छ । गण्डकीमा नेकपा ओलीनिकट २७, नेकपा प्रचण्ड–माधव निकटका १३, कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ सांसद छन् ।