नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन विषयमा कांग्रेसले यो गर उ गर भनेर भन्न नसक्ने बताएका छन् ।
कांग्रेसले अदालतको निर्णय मान्दै आइरहेको र यसपटक पनि अदालतको निर्णय मान्ने उनले बताए ।
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सोमवार भक्तपुरमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अदालतको निर्णय कुर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक निर्णयको विरोध गर्ने बताएका हुन् ।
‘न्यायालयबाट जस्तो निर्णय हुन्छ, पक्षमा होस् वा विपक्षमा होस् । निर्णय मान्दै आइरहेका छौं । स्वतन्त्र न्यायलयको अदालतको निर्णय मान्नेछौं,’ देउवाले भने, ‘अदालतमा विचाराधीन विषयमा यो गर उ गर भनेर कांग्रेसले प्रेसर दिन सक्दैन, हाम्रो पार्टी भन्दैन । अदालतको निर्णय मान्नेछौं ।’
देउवाले अहिलेदेखि नै देशभर ओलीको असंवैधानिक अलोकतान्त्रिक कदमको विरोधमा कार्यक्रम गर्ने बताए । ‘हाम्रो पार्टी कानून मान्ने पार्टी हो, अदालतको निर्णय पर्खिएका छौं,’ देउवाले दोहार्याए ।
देउवाले जनसम्बन्ध बढाउनको लागि देशभरका कार्यकर्तालाई निर्देशन दिए । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सोमवार देशका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ ।