
संसद विघटनको विरोधमा नेपाली कांग्रेस रुपन्देहीले जिल्लाको ५ वटै निर्वाचन क्षेत्रमा विरोधका कार्यक्रम गरेको छ ।
बुटवल, भैरहवा, धकधही, सालझण्डी, मझगावामा भएको विरोध प्रदर्शनमा उल्लेख्य सहभागिता थियो ।
निर्वाचन क्षेत्र नम्बर २ स्थित भैरहवाको विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री र राष्ट्रपति मिलेर जनताको संवैधानिक अधिकार खोसेको बताएका छन् ।
सरकार जनताको सेवक बन्नुपर्नेमा प्रधानमन्त्री ओलीले आफूलाई मालिकको रूपमा प्रस्तुत गर्दै जनताको संवैधानिक तथा मौलिक अधिकारहरू खोसेको आरोप उनले लगाए । प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै उनले प्रधानमन्त्री ओली नसच्चिए सरकार मात्रै नभई कम्युनिस्टहरू नै समाप्त भएर जाने बताए ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई साथ दिएर राष्ट्रपतिले आफूलाई नेपाली जनताको नभई ओलीको राष्ट्रपतिको रूपमा उभ्याएको आरोप पनि उनले लगाए । संविधान र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसले जस्तोसुकै बलिदान दिन तयार रहेको उनले बताए ।
‘भ्रष्टाचारीको मुख हेर्दिनँ’ भन्ने प्रधानमन्त्री ओली अहिले सबैभन्दा धैरै ऐनासँग रिसाएको पनि उनले बताए । ‘ओलीले भ्रष्टाचारीको मुख हेर्दिनँ त भन्नुभो तर ऐनाले हरेक दिन उहाँकै भ्रष्ट मुख देखाइदिएपछि बालुवाटारको ऐना जति फुटालिसक्नुभयो । उहाँले पाए भएभरका ऐना उत्पादन गर्ने कम्पनी नै बन्द गरिदिन चाहनुहुन्छ,’ नेता खाँणले भने ।

कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल, संविधानसभा सदस्य इस्तियाक अहमद खान, प्रदेश सांसद रमा अर्याल, जिल्ला सचिव रामकृष्ण खाँण, क्षेत्रीय सभापति मातृका यादव, उपसभापति पुरनप्रसाद श्रेष्ठ, नगर सभापति दिलिप धिताल लगायतले कार्यक्रममा बोल्दै संविधान र जनाधिकार रक्षाका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।