०१ असार २०८३, सोमबार

कलेजो प्रत्यारोपणका लागि १४ लाख आर्थिक सहयोग

पुस १४, २०७७
कलेजो प्रत्यारोपणका लागि १४ लाख आर्थिक सहयोग
प्रतिकात्मक तस्वीर

म्याग्दीका एक व्यक्तिलाई कलेजो प्रत्यारोपणका लागि करीब १४ लाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ ।

कलेजोको समस्याले थलिएका धवलागिरि गाउँपालिका–७ धारापानीका ५३ वर्षीय खड्कबहादुर थापाको उपचारका लागि सोमवार १३ लाख ९६ हजार ३९६ रुपैयाँ सहयोग गरिएको हो ।

काठमाडौं–धारापानी सम्पर्क समाजले स्वदेश तथा विदेशमा रहेकाहरूबाट सो रकम संकलन गरेर थापाको कलेजो प्रत्यारोपणका लागि सहयोग गरेको जनाएको छ । अभियानको नेतृत्व गर्नुभएका समाजका अध्यक्ष क्याप्टेन भरतबहादुर थापाले संकलित रकम थापालाई उपलब्ध गराइएको जानकारी दिए ।

‘नामावली र ठेगाना सहितको विवरण सोमवार सार्वजनिक गर्दै समाजले सहयोगदातालाई धन्यवाद ज्ञापन गरेको छ,’ उनले भने, ‘सहयोग जुटाउन फलियागाउँ–काठमाडौं समाजले पनि सघाएको थियो ।’

नवलपुरको बेल्डीयाबाट केशरबहादुर थापा र डम्मरबहादुर थापाको संयोजकत्वमा ६८ हजार ५०५ रुपैयाँ, कोरियाबाट कृष्णबहादुर थापाको संयोजकत्वमा ६९ हजार, जापानबाट काजी थापा, जीतबहादुर खत्री र अमृत थापाको पहलमा १ लाख ८८ हजार १९०, अस्टे«लियाबाट किसान पुन मगर, चक्रबहादुर थापा, भूपेन्द्र थापा, सन्तोष थापा र चन्द्रप्रकाश थापाको अगुवाइमा १ लाख ८७ हजार संकलन भएको थियो ।

बेनीमा बस्दै आएका ५३ वर्षीय थापाको उपचारको क्रममा अर्थिक अभावपछि परिवारले सहयोगको अपिल गरेको थियो । ओमकुमारी शान्ति कोषले पनि थापाको उपचारका लागि सहयोग संकलन अभियान सञ्चालन गरेको थियो । बेनीको न्यूरोडका व्यवसायी र थापाका आफन्त एवं धारापानीका वासिन्दाले पनि सहयोग गरेका थिए ।

निर्माणसम्बन्धी काम गरेर जीविकोपार्जन गर्दै आएका थापाको हाल भारतको मुम्बईस्थित नायर अस्पतालमा उपचार भइरहेको छ । थापाकी पत्नी यामुले आवश्यक आर्थिक स्रोत जुटेपछि शल्यक्रिया गरेर कलेजो प्रत्यारोपणको तयारी भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्