२६ जेठ २०८३, मंगलबार

विप्लव समूहका कार्यकर्ताले लुकाएको विस्फोटक पदार्थ  बरामद

पुस १४, २०७७
विप्लव समूहका कार्यकर्ताले लुकाएको विस्फोटक पदार्थ  बरामद

संखुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ ।

प्रहरीले सोमवार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो ।

विप्लव समूहका कार्यकर्ताले चैनपुर–४ को मैदानेमा रहेको ओढारमा लुकाएर राखेको सामग्री बरामद गर्दै सोमवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेको हो । प्रहरीले घटनास्थल चैनपुर नगरपालिका–४ मैदानेबाट चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको सकेट बम ४ थान, जिलेटिन ५० थान, डेटोनेटर ३० थान, हतियार तथा कम्ब्याट सहितको फोटो, ५/६ मोबाइलसहित ११ वटा सिम सार्वजनिक गरेको हो । टेन्ट, सेफ्टी फ्युज लगायतका २२ प्रकारका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

आइतवार मैदानेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीसँग चन्द समूहका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको थियो । भिडन्तमा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।

जिल्ला सेक्रेटरी उत्तरकुमार भनिने युवराज राईसमेतका कार्यकर्ताले प्रहरीको संयुक्त गस्ती टोलीलाई देख्नासाथ अन्धाधुन्ध फायर खोलेपछि दोहोरो भिडन्त भएको थियो । मैदाने भौगोलिकरूपमा विटकसँगै ताप्लेजुङ र तेह्रथुम जिल्लाको सिमाना नजिकै पर्दछ । भिडन्तका क्रममा प्रहरीले २ राउन्ड र सशस्त्रले १५ राउन्ड गोली चलाएको थियो ।

विप्लवका कार्यकर्ताले ६ राउन्ड गोली चलाएको प्रहरीले जनाएको छ ।

मैदाने क्षेत्रमा ३६ प्रहरी र १० सशस्त्र प्रहरी परिचालन गरिएको छ । दोहोरो भिडन्तपछि जंगलतिर भागेका विप्लव समूहका कार्यकताको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । गत मंसिर १ गते पनि मैदानेमा सुरक्षाकर्मी र चन्द समूहबीच भिडन्त भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्