२८ जेठ २०८३, बिहीबार

‘प्रेम गीत–३’ बलिउडमा बिक्री, शाहरुख खानको ब्यानरबाट भारतभर देखाइने !

पुस १४, २०७७
‘प्रेम गीत–३’ बलिउडमा बिक्री, शाहरुख खानको ब्यानरबाट भारतभर देखाइने !

निर्माण घोषणा भएसँगै नेपालमा चलचित्र ‘प्रेम गीत–३’ चर्चामा थियो । निर्माण सम्पन्न भइसकेपछि यसका पोस्टर, टिजर र गीतले ‘प्रेम गीत–३’ सर्वाधिक प्रतिक्षारत चलचित्र बन्यो ।

तर, अघिल्लो वर्षको चैत २८ मा प्रदर्शनका लागि तयार भएको यो चलचित्र कोरोना महामारीले गर्दा हलसम्म पुग्न सकेन । सन्तोष सेनको निर्माणमा तयार चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

चलचित्रमा कुमारसान थापा र ओएसआर डिजिटलको पनि लगानी छ । साथै यो चलचित्रमा चक्रबहादुर चन्द र मिलन सेन कार्यकारी निर्माताका रुपमा रहेका छन् ।   

‘प्रेम गीत’, ‘प्रेम गीत–२’, ‘चंखे संखे पंखे’, ‘मेरी मामु’ निर्माण गरेको आसुसेन फिल्म प्रोडक्सनले निर्माण गरेको पाँचौं प्रोजेक्ट ‘प्रेम गीत–३’ नेपाली दर्शक तथा चलचित्रकर्मीहरुको मात्रै होइन बाहिरी मुलुकका चलचित्रकर्मीको पनि ध्यान तान्न सफल प्रोजेक्ट बन्यो ।

काठमाडौं र मनाङको हिउँमा खिचिएको यो चलचित्र साढे ३ करोड हाराहारी बजेट खर्च गरिएर निर्माण गरिएको हो । एक वर्ष लगाएर निर्माण भएको यो चलचित्र हालै भारतीय चलचित्र निर्माण कम्पनीले किनेको छ ।

स्रोतका अनुसार उक्त चलचित्र भारतीय फिल्म निर्माण कम्पनी रेड चिल्लिजमार्फत भारतभर प्रदर्शन हुने गरी एक साउथ इण्डियन निर्माताले किनेका हुन् ।

तर, ‘प्रेम गीत–३’ टीमले भने यस विषयमा कुनै जानकारी गराइसकेकाे छैन । नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर मात्रै सम्पूर्ण कुराको जानकारी दिने बताइएको छ । 

स्रोतका अनुसार यो चलचित्र करिब ५ करोडमा शाहरुख खानको कम्पनीले रेड चिल्लिजले भारतभरका हलमा प्रदर्शनका लागि जिम्मा लिएको छ । 

सन्तोष सेन र चलचित्रका अभिनेता प्रदीप खड्काले सोमवार मात्रै मुम्बइमा सम्झौतामा हस्ताक्षर समेत गरेका छन् । अब यो चलचित्र प्रदर्शन हुँदा बलिउड र नेपालका हलमा एकसाथ प्रदर्शन हुनेछ । चलचित्र  हिन्दीसँगै अन्य भाषामा पनि रिलिज हुने भएकाे छ । 

सन्तोष सेन, अर्का एक निर्माता तथा ओएसआर डिजिटल मिलेर प्रेम गीत–३ निर्माण गरेका हुन् । अब भारतमा यो चलचित्र बिक्री भएसँगै डिजिटल राइट्सबारे विवाद हुन सक्ने आंकलन गरिएको छ ।

प्रेम गीत ३ मा शिव श्रेष्ठ, सुनिल थापा, क्रिस्टिना गुरुङ, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, प्रदिप खड्का, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको फिल्म ‘प्रेम गीत ३’मा कल्याण सिंह र एलिश कार्कीको संगीत, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको नृत्य रहेको छ ।

फिल्म बनिस शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्