०६ साउन २०८३, बुधबार

प्रदेशमा प्रचण्ड–नेपाल पक्षसँग सहकार्य पहिलो रोजाइ हुने कांग्रेस नेता खाँणको संकेत

प्रदेशमा प्रचण्ड–नेपाल पक्षसँग सहकार्य पहिलो रोजाइ हुने कांग्रेस नेता खाँणको संकेत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले सरकार कामचलाउ भइसकेको बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले मंगलवार बुटवलमा गरेका पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खाँणले कामचलाउ सरकारले दीर्घकालीन महत्त्वका कुनै पनि निर्णय गर्न नपाउने बताए । 

‘कामचलाउ सरकारले दीर्घकालीन महत्त्वका कुनै पनि निर्णय गर्न पाउँदैन । यदि गर्‍यो भने त्यस्तो निर्णय कांग्रेसलाई स्वीकार्य हुने छैन,’ नेता खाँणले भने । 

पूर्व रक्षामन्त्री समेत रहेका नेता खाँणले राष्ट्रपति कार्यालयले प्रधानमन्त्री कार्यालयको हल्काराको रूपमा काम गरेको टिप्पणी पनि गरे । संविधानको बर्खिलाप हुने गरी प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थमा गरेका निर्णय तथा सिफारिसको मसी सुक्न नपाउँदै राष्ट्रपतिले स्ट्याम्प लगाइदिएको भन्दै उनले राष्ट्रपति कार्यालयलाई हल्काराको संज्ञा दिए ।

‘राष्ट्रपतिसँग विषय विज्ञ सल्लाहकारको टीम छ तर कसैसँग सल्लाह गर्नुहुन्न । ओलीले गर्ने संविधान विपरीतका अध्यादेश, सिफारिसको मसी सुक्न नपाउँदै स्ट्याम्प लगाएर पठाइदिनुहुन्छ,’ नेता खाँणले भने  ।  

संविधानका कुनै पनि धाराले बहुमतको प्रधानमन्त्रीलाई यथास्थितिमा संसद विघटन गर्ने अधिकार नदिएको भन्दै उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर मुलुकलाई एकदलीय सर्वसत्तावादतर्फ लैजान संसद विघटनको कदम चालेको आरोप  लगाए । सरकारले गरेका भ्रष्टाचार लुकाउन पनि संसद विघटन गरेको बताए ।

निर्वाचनको मिति तोकेर संसद विघटन गरिए पनि प्रधानमन्त्री ओलीको मानसिकता वैशाखमा चुनाव गर्नु नरहेको भन्दै उनले कोरोनाको बहानामा संकटकाल लगाएर निर्वाचन सार्न सक्ने खतरा औंल्याए ।

संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई सही दिशा दिन नेपाली कांग्रेस सडकमा निस्किएको भन्दै उनले देश र जनताका लागि जस्तोसुकै बलिदान दिन कांग्रेस तयार रहेको बताए ।

पछिल्लो राजनीतिक अवस्था र प्रदेश सरकारको फेरबदलका सम्बन्धमा उनले असंवैधानिक कदमको विरोधमा रहेकाहरूसँगको सहकार्य पहिलो रोजाइ हुने बताए । नेकपामा प्रचण्ड–नेपाल पक्षीय नेताहरू विरोधमा रहेका छन् । कांग्रेसलाई सत्तामा जाने हतार नभए पनि लोकतान्त्रिक पार्टी भएकाले ढोका थुनेर बस्न नमिल्ने भन्दै उनले परिस्थिति अनुरूपको सहकार्य हुनसक्नेतर्फ पनि संकेत गरे ।

लोकतन्त्र र संविधानको रक्षा गर्दै ट्रयाक बाहिर गएकाहरूलाई मूलधारमा ल्याउने दायित्व कांग्रेसको भएको र त्यसलाई पूरा गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्