
ताप्लेजुङको पाथीभरा क्षेत्रको जंगलमा लागेको रेडपाण्डा (रातो हाब्रे) को चरन तथा बासस्थान डढेलोले खरानी बनाएपछि संकटमा परेको छ ।
६ दिनदेखि शुरू भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए ।
डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट गर्छ, अहिले आकलन गर्न नसकिने शेर्पाले बताए ।
पाथीभरा क्षेत्रको वनमा ८० हेक्टरभित्रको ब्लकमा ८ देखि ११ सम्म रेडपाण्डाको राम्रो चरन तथा बासस्थान भएको रेडपाण्डा क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । रेडपाण्डाको बासस्थान पूरै डढेलोले खरानी बनाएपछि कति रेडपाण्डा अर्को स्थानमा जान सफल भए वा कति आगोले जलेर मरे अहिले अनुमान गर्न नसकिएको राईले बताए ।
आगलागीका कारण पाथीभरा क्षेत्रको फावाखोला जंगल र सिकैचा क्षेत्रको जंगल समेत जलेको छ । हावा चलेकाले पनि आगो एक क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै फैलिरहेको पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताए ।
हिउँ वा पानी नपरेसम्म आगो निभाउन नसक्ने अवस्था रहेको निर्देशक काफ्लेले बताए । पाथीभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जंगलमा आगो प्रवेश गरे मानव बस्तीमा पनि क्षति हुने उनले बताए ।
काठमाडौंबाट आएको सिम्रिक एयरको हेलिकोप्टरले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि आगो निभेको छैन । सोमवार हेलिकोप्टरबाट ५ पटकसम्म पानी खसाले पनि आगो निभेको थिएन । गत बिहवारदेखि फुङलिङ नगरपालिका–११ फावाखोलामा रहेको सिम्बु सामुदायिक वन क्षेत्रमा लागेको डढेलो पाथीभरा मन्दिर नजिकै पुगेको हो । आगलागीको कारण अझै खुलेको छैन ।
स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेका छन् ।