अक्सफोर्ड विश्वविद्यालयका वैज्ञाकिहरूले कोरोनाविरुद्ध बनाएको खोप सर्वसाधारणमा उपयोग गर्न बेलायत सरकारले बुधवार स्वीकृति दिएको छ ।
बेलायतको खोप अभियानका लागि यो निर्णायक विन्दु हो । यसले जनजीवनलाई सामान्य अवस्थामा फर्काउने लक्ष्य लिएको छ ।
खोप निर्माता एस्ट्राजेनेकाबाट बेलायत सरकारले १० करोड खोपको डोज किनिसकेको छ । त्यसले ५ करोड मानिसलाई खोप पुग्छ ।
औषधि नियमन संस्थाले खोपलाई स्वीकृति दिनुको अर्थ यो सुरक्षित र प्रभावकारी दुवै छ ।
अक्सफोर्ड–एस्ट्राजेनेका खोप सन् २०२० को आरम्भमा कोरोना देखिनेबित्तिकै बनाउन थालिएको थियो । अप्रिल महिनामा पहिलो स्वयंसेवीलाई यो खोप लगाइएको थियो । त्यसपछि हजारौं मानिसमा खोपको परीक्षण गरिसकिएको छ ।
यसअघिका महामारीमा यति चाँडो खोप बनेको कीर्तिमान छैन ।