
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा जानकारी लिन आएको चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग उपप्रमुख क्वो येचौ नेतृत्वको टोली स्वदेश फर्केको छ ।
आइतवार नेपाल आएको टोलीले बहुपक्षीय परामर्श गरेर स्वदेश फर्किएको हो । प्रतिनिधि सभा विघटन र नेकपामा विभाजनको स्थिति सिर्जना भएपछिको स्थितिबारे चिनियाँ टोलीले नेपालमा विभिन्न पक्षसँग छलफल गरेको थियो ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतसँग टोलीले नेकपा विभाजन रोक्नका लागि गर्न सकिने पहलबारे छलफल गरेको थियो ।
चिनियाँ टोलीले सभामुख अग्नि सापकोटा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग पनि नेपालको राजनीतिक संकटको विषयमा छलफल गरेको थियो ।
ओली, प्रचण्ड र नेपालसँगको भेटमा चिनियाँ टोलीले नेकपा विभाजन रोक्न र मिलेर जान सुझाव दिएको थियो ।
टोलीले नेकपाका दोस्रो पुस्ताका नेताहरूसँग समेत अनौपचारिक छलफल गरेको थियो ।
हिमालयन एयरलाइन्सको विमानमार्फत चिनियाँ टोली बुधवार स्वदेश फर्केको हो ।