०७ साउन २०८३, बिहीबार

ओलीसँग दुई मात्र विकल्प थिए, अब चुनावपछि फेरि बहुमतको सरकार बनाउँछौ– महासचिव पौडेल

ओलीसँग दुई मात्र विकल्प थिए, अब चुनावपछि फेरि बहुमतको सरकार बनाउँछौ– महासचिव पौडेल
फाइल फोटो

नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले असंवैधानिक ढंगले पार्टी कब्जा गर्ने र सरकार ढाल्ने षड्यन्त्र शुरू भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुपर्ने बाध्यात्मक अवस्था आएको बताएका छन् ।

कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत् हुन दिने कि प्रतिरक्षा गर्ने भन्ने ओलीसँग दुई विकल्प मात्र रहेको पौडेलको भनाइ थियो । 

नेकपा प्रदेश नम्बर २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पौडेलले प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय लिनुपरेको बताए । 

‘असंवैधानिक ढंगले पार्टी कब्जा गर्ने र सरकार अपदस्त गर्ने तयारी भएपछि प्रधानमन्त्री ओलीका सामु दुईवटा मात्र विकल्प थिए, कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत गर्न आत्मसमर्पण गर्ने कि कम्युनिस्ट आन्दोलनको प्रतिरक्षा गर्ने ?’ पौडेलले भने, ‘प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नुभयो । यसले राष्ट्रिय राजनीतिलाई नयाँ दिशा प्रदान गरेको छ । अवैधानिक ढंगले पार्टीको विधान र संविधानविपरीत कब्जा गर्ने चेष्टासामु आत्मसमर्पण गरेको भए मुलुक अराजकतामा जाने थियो ।’ 

अर्थमन्त्री पौडेलले प्रतिनिधि आम निर्वाचनमा जाने निर्णय लोकतन्त्रको सुन्दरतम् उदाहरण भएको बताए । 

‘कतिपय मानिसहरूले, उपब्रुजुकहरूले जनताको अभिमतका आधारमा निर्णय गर्ने जनतामा जाने कदमलाई निरंकुशतातर्फको कदम भनेका छन्, यो वाहियात आरोप हो,’ पौडेलले भने, ‘प्रधानमन्त्री ओलीले अनिर्वाचित सत्ता चलाउँछु भनेको छैन, प्रतिनिधि सभा विघटन र निर्वाचनमा जाने निर्णय लोकतन्त्रको सुन्तरतम् उदाहरण हो ।’

निर्वाचन हुन्छ कि हुँदैन भनेर द्विविधा नरहन आग्रह गर्दै पौडेलले वैशाख १७ र २७ गते निर्वाचन हुने विश्वास व्यक्त गरे ।

‘सर्वोच्च अदालतको संवैधानिक बेञ्चलाई प्रभावित गर्न खोजेको होइन, तर प्रतिनिधि सभा विघटनको निर्णय बदर हुने सम्भावना छैन । बहुमत सदस्यले साथ दिएको विघटन यदि फेल हुने हो भने अल्पसंख्यकले वैकल्पिक सरकार दिन सम्भव हुन्छ र ?’ पौडेलले प्रश्न गरे । 

निर्वाचन आयोग र सुरक्षा निकायले तोकिएको मितिमै निर्वाचन गर्न सक्षम रहेको भनेकाले चुनाव हुने कुरामा आशंका नगर्न पौडेलले आग्रह गरे ।

‘मुलुक निर्वाचनमा जान्छ, तोकिएको मितिमा निर्वाचन हुन्छ भनेर विश्वास गरौं । मिति घोषणा भएकै दिन सुरक्षा निकायसँग समन्वय गरेका छौं । निर्वाचन तयारीमा लाग्न निर्देशन गरेका छौं । शान्तिपूर्ण, निष्पक्ष निर्वाचन गर्नका लागि सम्पूर्ण कार्यभार पूरा गर्छौं । चुनाव गर्न व्यवधान छैन । सरकार आश्वस्त रहोस् भनेर सुरक्षा निकायले भनेका छन्,’ पौडेलले भने । 

विपक्षी भूमिकामा खुम्चिन होइन 

महासचिव पौडेलले आगामी निर्वाचनबाट ओलीकै नेतृत्वमा बहुमतको सरकार बनाउने र त्यो सरकारलाई चलाउन कुनै व्यवधान नहुने बताए । ‘प्रतिनिधि सभा विघटन गरेर विपक्षी भूमिकामा खुम्चिनका लागि यो विकल्प रोजेका होइनौं, चुनावपछि फेरि बहुमतको सरकार बनाउँछौं । त्यो बेला सरकारको काममा व्यवधान खडा गर्न प्रचण्ड र माधव नेपाल कोही हुँदैनन्,’ पौडेलले भने ।

कांग्रेस पहिलो पार्टी हुन्छ र हामी पछिपछि हुन्छौं भनेर प्रचण्डले रुञ्चे अभिव्यक्ति दिएको उनले बताए ।

‘एउटा टेलिभिजन अन्तर्वार्तामा प्रचण्डले कांग्रेस पहिलो पार्टी बन्छ, हामी पछिपछि हुन्छौं भन्नुभएको सुनें । यस्तो खालको रुञ्चे अभिव्यक्तिका लागि किन पार्टी विभाजन गरेको ? यही पार्टीभित्र अनुशासित भएर आफ्नो र देशको भविष्य देखेको भए, कांग्रेस पहिलो हुन्छ भन्नुपर्ने दिन आउँथ्यो ?’ पौडेलले प्रश्न गरे ।​

विध्वंशकारी कदम नचालेको भए...

महासचिव पौडेलले प्रचण्ड–नेपाल समूहले विध्वंशकारी कदम नचालेको भए प्रतिनिधि सभा विघटनको अवस्था नआउने दाबी गरे । 

‘आफैंले निर्णय गर्ने अधिकार हुँदासम्म सुझबुझपूर्ण ढंगले नचल्ने, अन्तरविरोधलाई शत्रुतापूर्ण बनाउने, अहिले पुनःस्थापनाको माग गर्ने ? उहाँहरूले विध्वंशकारी, विग्रहकारी कदम नचालेको भए संसद् विघटन हुँदैनथ्यो ।

संसद्लाई विघटनको बिन्दुमा ठेल्ने काम कसले गर्‍यो ?’ पौडेलले प्रश्न गरे, ‘प्रतिनिधि सभाको पुनःस्थापना कसले गर्न सक्छ ? ओलीले चाहेर पनि गर्न सक्नु हुन्न । मन्त्रिपरिषद्ले सिफारिश गर्‍यो, राष्ट्रपतिले अनुमोदन गर्नुभयो । यो विषय अदालतमा विचाराधीन छ । प्रतिनिधि सभा पुनःस्थापनाका लागि आन्दोलन, यो आन्दोलन कसका विरुद्ध ओलीका विरुद्ध कि अदालतको विरुद्धमा ?  निर्णय गर्ने अधिकार अदालतमा छ, तपाईंहरू सरकारको विरोध गर्नुहुन्छ ?’

महासचिव पौडेलले प्रचण्डले सचिवालयमा पेश गरेको प्रतिशोधपूर्ण आरोप पत्र नेकपा विभाजनको बिउ भएको समेत बताए ।

salt training

कमेन्ट गर्नुहोस्