०५ साउन २०८३, मंगलबार
नेकपा विभाजन

नेकपा विभाजनले कार्याकर्तामा वितृष्णा : कोही तानातानमा, कोही राजनीति छाड्ने मूडमा !

पुस १६, २०७७
नेकपा विभाजनले कार्याकर्तामा वितृष्णा : कोही तानातानमा, कोही राजनीति छाड्ने मूडमा !

तीन वर्षअगाडि तत्कालीन एमाले र माओवादी केन्द्र पार्टी एकीकरण गर्ने घोषणासहित चुनावमा होमिँदा बुटवलका युवा व्यवसायी तथा नेकपा कार्यकर्ता यादव भण्डारीमा बेग्लै उत्साह थियो । 

तर, एकता भएको २ वर्षमै पार्टी विभाजन हुँदा पार्टीप्रति उनमा वितृष्णा गहिरिएको छ । उनी निकै निराश भनेका छन्, र पार्टीका लागि गरेका कामहरू पनि पनि पश्चाताप लाग्न थालेको छ । 

उनले लोकान्तरसँग भने, ‘देशमा स्थिर सरकार आयो । देशले गति लिनेछ । व्यावसायिक वातावरण बन्ने छ भन्ने सोचेको थिएँ । तर, कुनै पनि नेताहरू देशका लागि सोच्दा रहेनछन् ।’

भण्डारीले थपे, ‘नेताहरूले व्यक्तिगत इगो र स्वार्थले देशलाई अप्ठ्यारोमा पारे । केपी शर्मा ओली र प्रचण्ड कुनै समूहले पनि राम्रो गरेनन् । नेताहरूले देशका लागि होइन, आफ्नो स्वार्थ, कुर्ची र पावरका लागि जनतालाई प्रयोग गर्ने रहेछन् । यिनीहरूदेखि वाक्क लाग्यो, अब देशमा केही हुनेवाला छैन ।’ 

नेकपा कपिलवस्तु नगर कमिटीका अध्यक्ष शंकर पाण्डे पनि अहिले नेकपाको झगडा र विभाजनप्रति निकै निराश छन् । राजनीतिबाटै संन्यास लिनुपर्छ कि के हो भन्ने उनलाई लाग्न थालेको छ । पार्टी विभाजन भएपछि उनलाई दैनिक ओली र प्रचण्ड समूहका १५ जनाभन्दा बढीले दैनिक फोन गरेर आफ्नो समूहमा आउन आग्रह गर्ने गरेका छन् । तर, उनी राजनीतिबाट बिदा लिने सोचमा पुगेका छन् । 

उनले लोकान्तरसँग भने, ‘२०४२ सालदेखि अखिलबाट राजनीति शुरू गरें । कति नेताहरूलाई जिताइयो । नेताहरूलाई दुईतिहाइ पुर्‍याउन जिल्लामा ज्यान दाउमा राखेर लागियो । अहिले नेताहरूले देशलाई यस्तो बनाए । अब यिनीहरूका गीत गाउनुभन्दा निष्क्रिय भएर आफू र परिवारका लागि केही गर्ने सोचमा पुगें ।’

युवा संघ नेपाल गुल्मीका पूर्व अध्यक्ष तथा नेकपा सचिवालय सदस्य कृष्ण भण्डारीलाई नेताहरूले कार्यकर्तामाथि गरेको खेलबाडले मानसिकता नै कताकता खलबल बनाइदिएको छ । 

पार्टीप्रति इमान्दार, बफादार र निष्ठावान कार्यकर्ता राजनीतिबाट नै पलायन हुनुपर्ने अवस्था नेताहरूले सिर्जना गरेको भण्डारी बताउँछन् ।

उनले भने, ‘नेताहरूले पार्टी एकीकरणलाई बेवास्ता गरी पार्टी फुटाउँदा धेरै कार्यकर्ता निष्क्रिय बनेका छन् । अहिले पार्टीप्रति मलाई पटक्कै सरोकार नै हुन छाड्यो । नेताहरूले जनजीविकाका एजेण्डा अन्त्य गरेर कुर्चीका लागि लडे । लामो समय राजनीतिमा लाग्दा आफ्नो उमेर र समयको नाश मात्र भएजस्तो लाग्न थाल्यो ।’ 

नेपाली कम्युनिस्टको ७ दशक लामो इतिहासमा पहिलोपटक आएको झण्डै दुईतिहाइ बहुमतलार्य नेताहरूले दुरुपयोग गरेको उनको गुनासो छ ।

नेकपा नेता/कार्यकर्ता अहिलेको राजनीति देखेर पार्टीबाट निष्क्रिय हुन थालेका छन् । देश, समाज र व्यक्तिगत जीवनमा कुनै परिवर्तन नआउँदा संगठन र राजनीतिप्रति निराश भएर राजनीति छाड्ने अवस्था देखिएको विश्लेषकहरू बताउँछन् । 

माओवादी र एमाले पार्टी एकीकरण हुँदा देशमा आर्थिक विकास र समृद्धि भित्रिन्छ भने विगतका घटना भुलेर पनि एकतालाई बलियो पार्नुपर्छ भन्ने मान्यता राखेका थिए । 

लेखक तथा राजनीतिक विश्लेषक दिल साहनीले नेपालमा कम्युनिस्ट राजनीतिमा लागेका सबै नेता कार्यकर्तालाई नेताहरूले धेरैपटक निराश बनाउँदा र वितृष्णा जगाउँदा अब देशमा कम्युनिस्टको लामो भविष्य नरहने दाबी गर्छन् ।

उनले भने, ‘नेपालमा कांग्रेस र कम्युनिस्टमा केही फरक छैन । उनीहरू सबै पूँजीवादी नै हुन् । नेपालमा त मैले कम्युनिस्ट नै छैनन् भन्छु । अवसरवादी र शक्तिको पछाडि दैडिनेलाई त यो ठूलो अवसर हो । तर, नेकपाका वास्तविक कार्यकर्तालाई नैराश्य र अन्यौल बनाए नेताहरूले ।’

जति अन्यौल बनाए पनि प्रधानमन्त्रीले चालेको असंवैधानिक संसद् विघटनका विरुद्ध नेपालका युवाहरू लाग्नुपर्ने अवस्था आएको साहनीको बुझाइ छ । 

लुम्बिनी प्रदेशमा कम्युनिस्टहरूको किल्ला मानिन्छ । पार्टी विभाजन हुँदा यहाँका प्रभावशाली नेताहरू पनि दुई खेमामा विभाजित भइसकेका छन् । 

पार्टी विभाजन भएकै अवस्थामा चुनावमा गए दुई नेकपाको हैसियत शून्यमा झर्ने चिन्ता कार्यकर्ताहरूमा छ ।

नेकपा प्रदेश सभा सांसद विष्णु पन्थी नेकपा अझै पनि मिल्नुको विकल्प नभएको बताउँछन् ।

‘पार्टी विभाजन कसैको हितमा छैन । अझै पनि मिल्न सकिने ठाउँहरू छन्, नमिले नेकपाको भविष्य अन्योलमा छ ।’ 

कमेन्ट गर्नुहोस्