खुकुरी रमले नयाँ वर्ष २०२१ को अवसरमा जनवरी १ अर्थात भोलि अनलाइन कन्सर्टको आयोजना गर्न लागेको छ । नयाँ वर्ष विशेष कन्सर्टमा चर्चित एवं लोकप्रिय नेपाली कलाकारहरु समृद्धि राई, सबिन राई एण्ड दि फरौ, दि इलिमेन्ट्स, कबवेब, दि एक्स् ब्याण्ड, विपुल क्षेत्री र दि ट्राभलिङ्ग ब्याण्डको प्रस्तुति रहनेछ । नेपाली संगीतका पारखीहरुले यो कन्सर्टलाई साँझ ६ बजेदेखि खुकुरी युट्युब च्यानल र डिस होममा हेर्न सक्नेछन् ।
साथै कन्सर्टमा नयाँ नेपाली सांगीतिक स्टारको खोजमा आयोजित खुकुरी म्युजिक नेशन प्रतियोगिताका शीर्ष १६ प्रतियोगीहरुलाई पनि प्रस्तुत गरिने जनाइएको छ । शीर्ष १६ प्रतियोगीहरुको चयन विपुल क्षेत्री, समृद्धि राई र सबिन राईसहितको निर्णायक मण्डलले गर्नेछ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक आवेदकहरुले उनीहरुको आफ्नो सांगीतिक कभर भिडियो प्रतियोगिताको लागि आधिकारिक वेबसाइट खुकुरीम्युजिकडटकम मा अपलोड गराएका थिए । यस प्रतियोगिताको अर्को चरणमा श्रोताहरुले आफ्नो मनपर्ने कलाकारको लागि भोट गर्न सक्ने प्रावधान राखिएको छ । यो प्रतियोगिता नेपाल भित्र र विदेशमा रहेका सबै नेपालीहरुका लागि खुल्ला गरिएको थियो ।