पश्चिमी वायुको प्रभाव बढेसँगै कर्णालीका हिमाली जिल्लामा हिमपात शुरु भएको छ । आइतबार दिउँसो अलिअलि वर्षा भए पनि साँझबाट हिउँ पर्न थालेको हो ।
हिउँ परेपछि डोल्पा, हुम्ला र मुगुका विमान सेवा पनि ठप्प भएको छ । हिउँ परेसँगै मगु–सुर्खेत सडकखण्ड पनि अवरुद्ध भएको छ ।
हुम्ला र डोल्पामा भने एक मात्र माध्यम हवाई मार्ग नै हो । तर, हिमपात भएपछि नेपालगन्ज तथा सुर्खेतबाट त्यहाँ जान लागेका र उताबाट सुर्खेत नेपालगन्ज आउन लागेका यात्रु होटलमै रोकिएका छन् ।

यस्तै तारा एयरको जहाज त आइतबारदेखि सुर्खेत फर्किन पाएको पनि छैन । मौसम खराब भएपछि उडान हुन सकेको छैन ।
मध्य पुसमा परेको हिउँले जनजीवन केही प्रभावित भए पनि किसान भने खुशी भएका छन् ।
मंसिरमा छरेको जौं र गहुँ बालीलाई पुसको हिउँले केही राहत दिने भएको छ । कर्णालीका उच्च भेगमा यतिबेला फलफूल लगाउनका लागि खाडल तयार पार्ने सिजन पनि हो ।
अब नयाँ विरुवा लगाउनका लागि यसपालीको हिउँले मद्दत गर्ने किसानले बताएका छन् ।