काठमाडौँ, ३ जेठ - वैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम धामाधम आउन थालेको छ । तीन प्रदेशका ३४ जिल्लाको २८१ स्थानीय तहका लागि भएको निर्वाचनको सोमबारबाट मतगणना कार्यले गति लिएपछि निर्वाचनको परिणाम पनि छिटोछिटो आउन थालेको हो , गोरखापत्रमा खबर छ ।

मङ्गलबार राति १२ बजेसम्म मत गणना सम्पन्न भएका ४९ स्थानमध्ये प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) २१ मा अग्रता कायम गरेको छ भने सत्तारुढ नेपाली काँग्रेस १४ मा र नेकपा (माओवादी) केन्द्रले १२ मा विजयी भएका छन् । त्यसैगरी, अन्यले २ स्थान जितेका छन् ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मङ्गलबारबाट मतगणना कार्यले झनै गति दिने जानकारी दिए । आयोगले राजनीतिक दलहरूलाई मतगणना कार्यलाई सहज बनाइदिन पनि आग्रह गरेको छ । सानातिना विषयमा पनि उम्मेदवारहरूले अडान राख्न थालेपछि मतदानमा खटिएका कर्मचारी नै समस्या परेपछि आयोगले यस्तो आग्रह गरेको हो ।
निर्वाचन आयोगको कान्तिपथमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट मङ्गलबार राति १० बजेसम्म प्राप्त विवरणमा एक नगरपालिकासहित २४ नगरपालिकाको मतगणना कार्य सम्पन्न भएको जनाएको छ ।