चीनकी उम्दा बडीबिल्डर क्वी युनाको प्रेरणादायी कथा चीनमा भाइरल बनेको छ ।
यी ३५ वर्षीया बडीबिल्डरले सात वर्षको उमेरमा एक गोडा गुमाएकी थिइन् । आफूलाई विद्यालयमा सताउनेहरूले वैशाखीमा लात हानेर लडाइदिने गरेको बताउँदा उनका आँखामा आँसु आएका थिए ।
तर अहिले त्यसरी सताउने कल्पना पनि कसैले गर्न सक्दैन किनकि उनको मजबूत शरीर देखेर शत्रुहरू आत्तिन्छन् ।
क्वीले सन् २००४ को एथेन्स प्यारालिम्पिक्समा भाग लिएकी थिइन् । शारीरिक सुगठनमा उनको ध्यान हालसालै मात्र जान थालेको तर गत अक्टोबर महिनामा उनले पदक जितिसकेकी छन् ।
उनले स्टेजमा हाई हील जुत्ता र बिकिनी लगाएर वैशाखी टेक्दै हिँडेको तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।
दृढ निश्चय र सकारात्मक सोच भएकी क्वीलाई प्रेरणादायी व्यक्तित्वका रूपमा लिइएको छ । अपांगता भएका व्यक्तिलाई सीमान्तीकृत बनाइने देशमा उनी वास्तविक प्रेरणादायी हुन् ।
टिकटकमा उनका दुई लाखभन्दा बढी फलोअर छन् र उनले व्यायाम गरेको भिडियो पोस्ट गर्ने गरेकी छन् ।