पृथ्वीनारायण शाहविरुद्ध फैलाइएका भ्रम र तिनका वास्तविकता

सुशील गौतम
सुशील गौतम

गौतम मौलिक जरोकिलो पार्टीका केन्द्रीय अध्यक्ष हुन् 

पृथ्वी नारायण शाहले नेपाल संसारको अति भ्रष्ट राष्ट्र बनोस्,  संसारको अति विपन्न राष्ट्र मध्येको एक बनोस्, दैनिक १५ सय युवा विदेश जाउन र दैनिक ४ वटा लासको बाकस फर्किऊन्, कहिले चीन, भारत र अमेरिकाको खेल मैदान बनोस् भनेर एकीकरण गरेको पक्कै होइन ।  तत्कालीन अवस्थामा युगको चेतना भएका दुरदर्शी जो कोहीले गर्नैपर्ने काम गर्नुभएको हो  । त्यसमा हामीले हृदयदेखि नै पृथ्वीनारायण शाहको सम्मान गर्नैपर्छ ।


Advertisement

तत्कालीन भुरेटाकुरे राज्यहरू एकआपसमा स–साना निहुँमा आपसमा लडिरहने अवस्था थियो भने अर्कोतिर दक्षिणतिर रहेका थुप्रै राज्यहरू अंग्रेजले खाइसकेको अवस्था थियो । त्यस्तो परिस्थितिमा स–साना राज्यको अस्तित्व मेटिने खतरा त छँदै थियो मौलिक धर्म संस्कृति नाश हुने सम्भावना थियो । यी दुवै सम्भावनाबाट जोगाउन पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभयो । तत्कालीन अवस्थामा गोर्खाका ठकुरी राजाले एकीकरणको  नेतृत्व नलिनुभएको भए अरू कुनै मगर राजा वा नेवार राजा वा क्षेत्री राजाले नेतृत्व लिनैपर्थ्यो । नेपालको एकीकरण गर्नैपर्थ्यो, अन्यथा नेपाल भन्ने राष्ट्र आज जीवित रहन सम्भवै थिएन । 


Advertisement

नेपालमा अहिले गणतान्त्रिक संविधान रहेको यथार्थ हो । पृथ्वीनारायण शाहको योगदानका लागि  उहाँको सम्मान गर्नु हामी सबै नेपालीको कर्तव्य हो । चाहे गणतन्त्रवादी होस् चाहे राजतन्त्रवादी, पृथ्वीनारायण शाह सबैका साझा हुनुहुन्छ । आफूले आफूलाई नेपाली भनेर गर्व गर्ने जो कोहीका साझा धरोहर हुनुहुन्छ । तर पछिल्लो समय नेपालमा संकीर्ण मानसिकता बोकेका, जातीय र नश्लीय घृणा र कित्ताकाट गर्ने समूहहरू पृथ्वीनारायण शाहविरुद्ध विषवमन गर्ने गरेका छन् ।  जब–जब राष्ट्रिय एकता दिवस आउँछ यस किसिमका घृणावादीहरू सल्बलाउन थाल्छन् । गालीगलौज गर्न थाल्छन् । थुक्न थाल्छन् । कसैलाई पृथ्वीनारायण शाहले इसाई पादरीहरूलाई लखेटेकोमा रिस छ । कसैलाई पृथ्वीनारायण शाह आफ्नो जातको नभएकोमा रिस छ । कसैलाई आफ्नो गुमेको राजनीतिक हैसियत प्राप्त गर्न जातीयता र नश्लीयताको नारा उचाल्नुछ । कसैलाई शक्तिराष्ट्रहरू रिझाउनु छ ।  

पृथ्वी नारायण शाहमाथि आक्रमण भनेको नेपाल राष्ट्रमाथिको आक्रमण हो । नेपालको अस्तित्व नस्वीकार्नु हो । एकीकरणपूर्वको भुरेटाकुरे राज्य नै ठीक थियो भन्नु हो । भुरेटाकुरे राज्य होइन सिंगो नेपाल राष्ट्र चाहिन्छ भन्ने सम्पूर्ण देशभक्त नेपाली दाजुभाइ तथा दिदी बहिनीले पृथ्वी नारायण शाहमाथि लगाइने आरोपहरू र त्यस पछाडिका नियतलाई बुझ्न यो लेख अन्तिमसम्म पढ्नु, बुझ्नु र बुझाउनु आवश्यक छ ।


Advertisement

पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेको होइन, गोर्खा राज्य मात्र विस्तार गरेको हो ।

आज नेपालको आधिकारिक नाम नेपाल रहन गएको छ र नेपालका नागरिकको राष्ट्रियता नेपाली बन्न गएको छ । तत्कालीन अवस्थामा गोरखाबाहेक अन्य राज्यहरू  आफ्नो सिमानामा एक इञ्च तलमाथि नगर्ने केबल पृथ्वीनारायण शाह मात्रै विस्तार गर्न खोज्ने प्रवृत्तिका देखाउन खोजिएको छ ।  यथार्थ के हो भने तत्कालीन अवस्थामा रहेका जुनसुकै राज्य पनि मौका मिलेको खण्डमा अन्य राज्यमाथि आक्रमण गर्ने र आफ्नो राज्य विस्तार गर्ने गर्दथे ।

पृथ्वीनारायण शाह गोर्खा जस्तो कमजोर राज्यको राजा भएता पनि यस क्षेत्रका राज्यहरूलाई एउटै सिंगो राज्यमा मिलाउने सपना देख्नुले उहाँमा रहेको दृढ इच्छाशक्ति देखाउँछ । शुरूआती चरणमा आफ्नो राज्य विस्तार गर्ने भावना रहेको भएता पनि कालान्तरमा नेपालको पुन:जागरण चेतनाको प्रखर हुँदै गएपछि नेपालको एकीकरण गर्दै आधुनिक नेपालको जग बसाल्नुभएको हो ।

नेपालको सिमाना कुनै समय पूर्वमा कामरूप कामाक्षदेखि पश्चिममा कतृपुर र उत्तरमा मानसरोवरदेखि दक्षिणमा गंगा नदीसम्मै फैलिएको थियो । (पृष्ठ २, नेपालको पुन:जागरणको अर्थ र आधार ) विभिन्न कारणहरूले गर्दा विशाल नेपाल टुक्रिएको थियो । त्यसरी टुक्राटुक्रा अवस्थामा रहेको राज्यहरूलाई पुन: एकीकरण गरेर अन्त्यमा एकीकृत राज्यको नाम पनि नेपाल रहनुले पृथ्वीनारायण शाहले फगत आफ्नो राज्य मात्रै विस्तार गर्नुभएको हो भन्नु बेइमानी हो । वास्तवमा पृथ्वीनारायण शाहले नेपालको गौरवशाली इतिहासलाई अविच्छिन्न राख्नका लागि नेपालको एकीकरणको सूत्रपात गर्नुभएको थियो । पृथ्वीनारायण शाहले गोर्खा राज्यको सीमा विस्तार होइन, नेपालको पुन:जागरणको जग स्थापना गर्नुभएको थियो ।

कतिपय अबुझहरू भन्छन्, पृथ्वीनारायण शाह अघि नेपाल भन्ने कुनै राज्य नै थिएन भनेर । जब कि २३ सय वर्षअगाडि लेखिएको कौटिल्यको अर्थशास्त्रमा नेपालबाट निर्यात हुने राडीपाखीको चर्चा छ । रामायणभन्दा अगाडिको मानिने नाट्यशास्त्रमा नेपालको नाम उल्लेख छ । एक समय विशाल एवं समृद्ध रहेको नेपाल विभिन्न कारणले टुक्रिएको हुँदा टुक्रिएका राज्यलाई पुन: जोडेर पृथ्वीनारायण शाहले आधुनिक नेपालको जग बसाउनुभएको हो। 

पृथ्वी नारायण शाहलेकीर्तिपुरका जनताको सत्र धार्नी नाक साँच्चैकाटेका थिए ?

नेपाल एकीकरण गोलमेच सम्मेलन आयोजना गरेर सम्पन्न भएको होइन । युद्धबाटै बनेको हो । कीर्तिपुर र गोर्खा राज्यबीचको युद्धको अवस्था थियो । तीनपटकको आक्रमणपछि बल्ल कीर्तिपुरमाथि विजय हासिल भएको थियो ।

युद्धअगाडि पराजित राज्यमाथि के कस्तो व्यवहार गर्ने भनेर लिखित सम्झौता भएको थिएन । तर यहाँ पृथ्वीनारायण शाहले कीर्तिपुर विजयपश्चात नेवारहरूको सत्र धार्नी नाक काटेको भन्दै हौवा फैलाउँदै एकातिर पृथ्वीनारायण शाहविरुद्ध विषवमन गर्ने गरेका छन् भने अर्कातिर जातीय द्वेष फैलाउने कार्य गरिरहेका छन् ।

तत्कालीन समयमा काठमाडौंमा धर्म परिवर्तन गराइरहेका पादरी जिसेप्पी पृथ्वीनारायण शाहले काठमाडौं विजयपश्चात लखेटिए र सिमाना कटाइए । तिनै पादरी जिसेप्पी पृथ्वीनारायण शाहले सत्र धार्नी नाक काटेका हुन् भनेर लेख्ने मुख्य व्यक्तिको रूपमा देखा परे ।

कीर्तिपुर युद्धभन्दा ३ वर्षपछि अर्थात सन् १७६९ मा कीर्तिपुर पुगेका जिसेप्पीले घटना देखेको भनेर उनको भनाई साभार गर्छन् र लेख्छन् कीर्तिपुरमा सत्र धार्नी एक शेर नाक काटिएको थियो अर्थात् जम्मा ८६५ जनाको नाक काटिएको थियो । मानिसको नाकको औसत तौलसहित हिसाब गर्दा शत्र धार्नी एक शेरमा ८६५ भन्दा दोब्बर मानिसको नाक काटिएको हुनुपर्ने देखिन्छ ।

नाक काटिएको भनिएका मानिसहरूको संख्या र काटेर जोखिएका तौलबीच आकाश पाताल फरक परेको छ ।

आफ्नो सामान बोक्ने केही भरियाको नाक अनौठो देखेर सोधेको भरमा पूरै कीर्तिपुरवासीको नाक काटिएको भनेर हौवा फैलाउने काम काठमाडौंबाट लखेटिएका पादरीहरूले पृथ्वीनारायण शाहसँग प्रतिशोध साँध्न गरेका थिए भन्ने कुरामा कुनै शंका छैन ।

नाकै नकाटिएको भने होइन । डा. जगमान गुरुङको भनाइमा कीर्तिपुरले आत्मसमर्पण गरिसकेपछि राति सुतिसकेका गोर्खाली सेनालाई केही युवाले मारेपछि तिनीहरूलाई पक्राउ गरेर हत्यामा संलग्न भनेर नाकमा चिह्न लगाइएको हो । विश्लेषक सौरभले यो संख्या १५ जना निकालेका छन् । नेपाली समाजमा बेइज्जत गर्नुलाई नाक काट्नु भनिन्छ । यस मानेमा आत्मसमर्पण गरिसकेका कीर्तिपुरवासी नाक काटिएको अनुभव अनौठो होइन ।

सन् १७४५ विष्णु मल्लको मृत्युपछि पाटनको राजा बनाइएका राज्य प्रकाशसँग पाटनका छ प्रधानको कुरा नमिलेपछि आँखा फुटाइएको थियो, जसको पीडाले उनको मृत्यु भयो । त्यसपछि राजा बनेका विश्वजित मल्ललाई अनुचित प्रेम गरेको भनेर पाटनका छ प्रधानले काटेर टुक्रा–टुक्रा पारेर मारे । त्यसपछि राजा बनेका जयप्रकाशलाई बिहान टेकु दोभानमा नुहाएर पूजा  गर्दा गर्दै पाटनका प्रधानहरूले लखेटे ।  (नेपालको इतिहास, प्रा.डा. रामप्रसाद उपाध्याय ) युद्ध नहुँदा पनि उक्त क्षेत्रमा यस किसिमको कार्य हुने गर्थ्यो भने युद्धको अवस्थामा नाक काटियो भनेर विष वमन गर्नु- दालमा केही कालो छ ।  

पृथ्वीनारायण शाहले सांस्कृतिक अतिक्रमण गरे ?

पृथ्वीनारायण शाहले सांस्कृतिक अतिक्रमण गरे भन्ने गरेको यो वाहियात कुरा हो । पृथ्वीनारायण शाहले दिव्योपदेशमा आफ्नो कुल तथा धर्म नछाड्नु भन्नुभएको छ । आफ्नो कुलधर्म मान्नु भनेको गैरहिन्दूले हिन्दू धर्म, संस्कृति मान्नु, गैर ठकुरीले ठकुरी धर्म संस्कृति मान्नु भनेको हो र ? पृथ्वीनारायण शाहले सांस्कृतिक अतिक्रमण गर्ने भए काठमाडौं विजयपश्चात कुमारी प्रथा नै हटाइदिएको भए अथवा शाक्यको छोरीलाई कुमारी नमानेर आफ्नै जातको कुमारी खडा गरेको भए सांस्कृतिक अतिक्रमण हुन्थ्यो । उहाँले त जीवित देवी कुमारीलाई ढोगेर खड्ग साट्नुभयो ।

यो कसरी सांस्कृतिक अतिक्रमण भयो र पराजित राज्यबाट आफ्नो जातभन्दा फरक विराज थापा मगरलाई सेनापति बनाउनु के सांस्कृतिक अतिक्रमण हो ?  उहाँले त आफ्नो दिव्योपदेशमा आफ्नो सुखसयलका लागि त शास्त्र बमोजिमको तीनै शहर (काठमाडौं, ललितपुर र भक्तपुर )का नेवारहरूको नाच हेरे पनि हुन्छ, यिनीहरूलाई दिएको धन आफ्नै देशमा रहन्छ ।

यस्तो भएमा देश पनि सुरक्षित रहन्छ भनेर यहाँको सांस्कृतिक महत्त्वलाई र देशको अर्थतन्त्रलाई मौलिक संस्कृतिसँग जोडेर हेर्नुभएको छ । पृथ्वीनारायण शाहले सांस्कृतिक अतिक्रमण होइन बरू नेपालको मौलिक धर्म संस्कृतिको संरक्षण गर्नुभएको थियो भन्ने कुरा प्रमाणित भएको छ ।

उहाँले कान्तिपुरका राजा जय प्रकाश मल्लले आफ्नो सत्ता टिकाउन अँग्रेजहरूलाई ल्याई त्यहाँका देवी देउताका गुठी मास्ने काम गरेकाले कान्तिपुर विजयीपश्चात धर्म परिवर्तन गरेका ६२ जनालाई काठमाडौंबाटै लेखेट्नुभएको थियो । अहिले सोझासाझा हिन्दू, बौद्ध, किराँतहरूलाई गाउँगाउँमा पुगेर धर्म परिवर्तन गराउनेहरूलाई लखेट्ने हिम्मत हामीहरूमा छ त कसैको ? अनि धर्म संस्कृतिका विरोधी भनेर कसरी पृथ्वीनारायण शाहलाई भन्न मिल्छ ?

त्यो बेलामा धर्मान्तरणकारी  र साम्राज्यवादी फिरंगीहरूलाई लखेट्न नसकेका ल्याटिन अमेरिका र फिलिपिन्सको अवस्था कस्तो छ अहिले ? ल्याटिन अमेरिकाका मानिसहरूको मौलिक धर्म संस्कृति मासेर सन् १९७० मा ९० प्रतिशत क्याथोलिक इसाई बनिसकेका थिए । अहिले घट्दो क्रममा छन् । सन् २०१४ मा ७० प्रतिशतमा पुगेका छन् । त्यस्तै फिलिपिन्समा रहेका पल्लव वंश र गुप्त वंशको शासन पतन भयो ।

त्यहाँ रहेका बहुसंख्यक हिन्दु र बौद्धहरू धर्मान्तरण गरिए । अहिले ९२ प्रतिशत इसाई सम्प्रदायका छन् । भने नेपालमा सन् २०११ सम्ममा १२३ वटा भाषाभाषी, १२५ वटा जातजाति, एक दर्जन धार्मिक सम्प्रदाय रहेका छन् । पृथ्वीनारायण शाहले नेपालमा सांस्कृतिक अतिक्रमण होइन, बरु मौलिक धर्म संस्कृतिको संरक्षण चाहिँ गर्नुभएको थियो भन्ने यथेष्ट आधारहरू रहेका छन् ।

 आज नेपालका विश्वविद्यालयहरूमा एकातिर इतिहास विषयमा विद्यार्थीहरूको रुचि घट्दो देखिन्छ, इतिहास विषय पढाइ हुने विश्वविद्यालयका कक्षाहरू खाली हुन थालेका छन् भने अर्कातिर जे जति इतिहाससम्बन्धी पढाई हुने गरेको छ, अधिकांश विदेशी लेखकहरूको भरमा पढाइने गरेको छ । जुन विदेशीहरूले नेपालको इतिहासलाई २५० वर्षमा मात्रै सीमित गर्ने ठूलै प्रपञ्च पनि नेपालमा नभएको होइन । तर यथार्थमा नेपाल वैदिककालदेखिको अविच्छिन्न भू–राजनीतिक वैधानिक मान्यता प्राप्त राज्य हो । यहाँका शासकहरू परिवर्तन भए । व्यवस्था परिवर्तन भए तर नेपालको स्वतन्त्र राष्ट्रको अविच्छिन्न मान्यतामा केही परिवर्तन भएको छैन ।

कुनै समय पूर्वमा कामरूप कामाक्षदेखि पश्चिममा कतृपुरसम्म पुगेको नेपालको सिमाना विभिन्न कारणले टुक्रिएको हुँदा ती टुक्रिएका राज्यलाई एकिकरण गरेर पृथ्वीनारायण शाहले नेपालको पुन:जागरणको थालनी गर्नुभएको थियो । 

हामी नेपालीहरू फरक सभ्यतागत पृष्ठभूमि भएका, फरक समय र परिस्थितिमा रहेको समाजलाई हेरेर निर्माण गरिएको मताग्रहलाई मार्क्सवादी भन्दै छाती पिट्दै राज्यसत्तामा स्थापित गराउँछौं । कहिले गतार्थ भइसकेको पूँजीवाद नै पो हो समाधान भनेर जुलुस निकाल्छौं । आयातित शिक्षा प्रणाली स्थापित गराउँछौं अनि छोराछोरी विदेश जान बाध्य भए भनेर चिन्ता गर्छौं ।

राजनीतिमा आयातित सिद्धान्त स्थापित गराउँछौं अनि मुलुक विदेशी शक्तिको खेल मैदान भयो भनेर चिन्ता व्यक्त गर्छौं । आयातित अर्थतन्त्र अवलम्बन गर्छौं अनि मुलुक समृद्ध हुन सकेन भनेर चिन्तित हुन्छौं । जबसम्म हाम्रो आफ्नै जरो र आफ्नै किलोमा आधारित अर्थतन्त्र, शिक्षातन्त्र, राज्यव्यवस्था, समाजव्यवस्था हुँदैन तबसम्म हामी यस्तै भ्रष्टाचार, अत्याचार, गरीबी, पलायनजस्ता समस्या अन्तहीन रूपमा भोगिरहन्छौँ ।

पृथ्वीनारायण शाहले आफ्नो कुल धर्म नछाड्नु भन्नुको अर्थ आफ्नो जरोकिलो बुझौं ।

हिन्दू, बौद्ध, बोन, जैन, किराँतजस्ता नेपालका मौलिक धार्मिक सम्प्रदायको अपनत्व हुने अर्थतन्त्र, शिक्षातन्त्र, राजनीतितन्त्र, कृषि पद्धति स्थापना नगरेसम्म पृथ्वीनारायण शाहले थाल्नुभएको नेपालको पुन:जागरणको प्रयासले सार्थक निष्कर्ष प्राप्त गर्ने छैन । नेपालको मौलिक चिन्तनमा आधारित राज्यव्यवस्था, शिक्षापद्धति, अर्थतन्त्र र विदेशनीतिको अख्तियारी गर्नु नै पृथ्वी नारायण शाहप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

सुशील गौतम
सुशील गौतम

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्