०१ असार २०८३, सोमबार

उमेश–सुदीक्षाको पोस्टमार्टमले खोल्यो हत्याकाण्डको रहस्य, रिपोर्ट आएपछि ‘च्याप्टर क्लोज’

पुस २७, २०७७
उमेश–सुदीक्षाको पोस्टमार्टमले खोल्यो हत्याकाण्डको रहस्य, रिपोर्ट आएपछि ‘च्याप्टर क्लोज’

काठमाडौंको टोखा नगरपालिका–३ ग्राण्डी भिला हाउजिङमा हत्यापछि भएको आत्महत्याको पोस्टमार्टम रिपोर्ट आएसँगै ‘च्याप्टर क्लोज’ भएको छ । 

आइतवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले पोस्टमार्टम रिपोर्टको प्रारम्भिक प्रतिवेदन बाहिर ल्याएपछि अमेरिका जान लागेका बानेश्वरका ३३ वर्षीय उमेश केसी र सुदीक्षा गिरीको हत्यापछिको आत्महत्यालाई प्रमाणित गर्ने तथ्य फेला परेको छ ।

आइतवार महाराजगञ्जले दिएको प्रारम्भिक रिपोर्ट अनुसार पत्नी सुदीक्षाले पति उमेशको हत्या गरेर केही समयपछि आत्महत्या गरेको प्रमाणित भएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए । 

‘सिलौटोको लोहोरोले हानेर हत्या गरेको र केही समयपछि आफैंले आत्महत्या गरेको प्रारम्भिक रिपोर्टमा देखिएको छ,’ एसएसपी सिंहले लोकान्तरसँग भने, ‘थप कुरा अनुसन्धानपछि पत्ता लाग्ला ।’

त्रिवि शिक्षण अस्पतालका चिकित्सकका अनुसार उमेशको हत्या भएको १०–१२ घण्टापछि सुदीक्षाले आत्महत्या गरेको देखिएको छ । 

चिकित्सकले उमेशको मृत्युको कारण ‘ब्लन्ट फोर्स इन्जुरी’ बताएका छन् । निधारमा लागेको चोटका कारण उच्च रक्तश्राव भएर ज्यान गएको चिकित्सकले निष्कर्ष निकालेका प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सिंहका अनुसार लिखित पोस्टमार्टम रिपोर्ट नआए पनि घटनामा तेस्रो पक्षको संलग्नता देखिएको छैन । ‘अहिलेलाई तेस्रो पक्षको संलग्नता देखिने प्रमाण फेला परेका छैनन्,’ एसएसपी सिंहले लोकान्तरसँग भने ।

उमेशका परिवारले भने आफूहरूलाई खबर नगरी मुचुल्का उठाउनु, सुदीक्षाकी दिदी शर्मिलाले परिवारलाई चिन्दाचिन्दै पनि जानकारी नदिनु, मृतक उमेशको मृत्युको केही घण्टापछि मात्रै सुदीक्षाले आत्महत्या गर्नुले तेस्रो पक्षको पनि संलग्नता रहेको आरोप लगाउँदै आएका थिए ।

पोस्टमार्टममा अन्य व्यक्तिको कुनै संलग्नता नदेखिएकाले अब सुदीक्षाले उमेशको हत्या गरेर आफूले आत्महत्या गरेको तथ्य पुष्टि भएको प्रहरीले जनाएको छ । एसएसपी सिंहले पोस्टमार्टम रिपोर्ट र प्रारम्भिक अनुसन्धानमा तेस्रो पक्ष नदेखिए पनि त्यसतर्फ अनुसन्धान भइरहेको बताए ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार केहीले शंका गरेको दिदी शर्मिलाको संलग्न हुने कुनै संकेत देखिएका छैनन् । मृतक पतिपत्नी बस्ने अपार्टमेन्टको पछाडिको ढोकाको चुकुल फोडिएको भए पनि त्यसमा कुनै पनि प्रमाण नभेटिएको प्रहरीले जनाएको छ ।

‘दिदी अगाडिको ढोकाबाट प्रवेश गरेको फिङ्गर प्रिन्ट भेटिएको छ । यसले उनी संलग्न भएको भन्ने प्रमाण दिँदैन,’ ती प्रहरी अधिकारीले लोकान्तरसँग भने ।

तर प्रहरीले शर्मिलाको मोबाइलमा म्यासेज, फोटो वा फोन कल भए/नभएको अनुसन्धानका लागि मोबाइललाई प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको छ ।

२०७२ वैशाख २८ गते ‘बिजनेश इन मास्टर्स’ पढ्न गएका उमेश कात्तिक ६ गते सदीक्षालाई अमेरिका लैजान नेपाल आएका थिए । व्यापार गर्दै आएका उमेश आगामी माघ १ गते पत्नी सदीक्षासहित अमेरिका जाने योजनामा रहेका पारिवारिक स्रोतले जनाएको छ ।

घर परिवारको मन्जुरी विना ६ वर्षअघि दुवैको विवाह भएका थियो । विवाहपछि सुदीक्षा माइतीको रेखदेखमा टोखामा बस्दै आएकी थिइन् । सुर्खेत स्थायी घर भएका माइती टोखामा बस्ने भएकाले उमेशले सुदीक्षालाई नजिकै अपार्टमेन्टमा राखेका थिए ।

शुक्रवार राति पौने ९ बजे प्रहरीलाई खबर आएपछि ५ मिनेटमा प्रहरी घटनास्थलमा गएको प्रहरीले जनाएको छ । मृतक उमेशको टाउको मसला पिस्ने लोहोरोले हानेको देखिएको छ भने सदीक्षाले भने झुण्डिएर आत्महत्या गरेकी जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्