१० असार २०८३, बुधबार

फागुनसम्ममा कोरोना खोप ल्याउने सरकारको तयारी,१६ हजार खोप केन्द्र उपयोगमा ल्याइने

पुस २८, २०७७
फागुनसम्ममा कोरोना खोप ल्याउने सरकारको तयारी,१६ हजार खोप केन्द्र उपयोगमा ल्याइने

 कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत र कानुनी जटिलता फुकाइसकेको भन्दै खोप कार्यक्रम प्रभावकारी बनाउन ५ हजार कर्मचारी र ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुईदेखि आठ डिग्री तापक्रममा १ करोड ७० लाख खोपको डोज भण्डारणका गर्ने क्षमतासहितको पूर्वाधार तयार पारिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको खोप फागुनसम्म आउन सक्ने संकेत गरेको छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिने बताए । खोप अन्योलसम्बन्धी जिज्ञासामा मन्त्री त्रिपाठीले भने, ‘मेरो व्यक्तिगत जीवनमा फागुन महिना चामत्कारिक हुन्छ । यसपालि पनि फागुन चामत्कारिक होला भनेर आशा गरौं ।’

सरकारले खोप लगाउन स्वास्थ्यकर्मी, ५५ वर्षमाथिका र दीर्घरोगीलाई प्राथमिकतामा राखेको छ । खोप प्राविधिक प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । प्रस्तावमा खोप प्राप्तिका आधार, लागत, सुरक्षा, उपलब्धतालगायतका विषय उल्लेख छन् ।
स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘खोप खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुनेछ । खोप समयमै आउँछ ।’

उनले सरकार सरकारबीचको खरिद प्रक्रियालाई प्राथमिकता दिने भन्दै खोप आयातका लागि आन्तरिक तयारी धेरै अघि बढिसकेको बताए । उनले आफूले रुस, भारत र अरबका राजदूतसँग खोप प्राप्तिका सन्दर्भमा कुरा गरेको बताए । उनले भने, ‘खोप प्राप्तिका लागि सरकार गम्भीर छ । सरकारले आफ्ना हरेक च्यानल र सम्भावनालाई अघि बढाइरहेको छ ।’

कोभ्याक्समार्फत २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप प्राप्तिको सुनिश्चितता करिब करिब भइसकेको बताए । निजी क्षेत्रलाई खरिद प्रक्रियामा सामेल गराइने भन्दै सरकार सरकारबीचको खरिद प्रक्रियालाई प्राथमिकतामा राखिएको बताए । उनले भने, ‘कोभ्याक्समाथि मात्रै हामी निर्भर छैनौं । उसले दिनुभन्दा अघि अरू खोप आउँछ । तत्तत् देशको सरकारको सहयोग लिएर अघि बढिरहेका छौं ।’

खोप कोषमा जम्मा गर्न विदेशी दातृ संस्थाहरूलाई आग्रह गर्ने तयारी थालिएको छ । खोप कोषमा अर्थ मन्त्रालयबाट ५० करोड रुपैयाँ निकासा भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म खोप सन्दर्भमा तत्कालीन काम गर्न ६८ करोड रुपैयाँ बजेट रहेको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए । दक्षिण एसियामा खोप प्राप्तिका लागि नेपाल पछि नपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले प्राप्त भएको खोप निःशुल्क लगाउने बताएको छ । राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्