
विभाजित नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा ठूलो अदालत भनेकै जनताको अदालत भएको बताएका छन् ।
नेकपा गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वाेच्च अदालतले नै संसद पुनःस्थापना गर्ने विश्वास भए पनि जनताको अदालत जागरुक हुनुपर्ने बताए ।
‘सर्वाेच्च अदालतले संसद पुनःस्थापना गर्छ भन्ने पूरै विश्वास छ । सर्वाेच्चले संविधानको सही व्याख्या गर्छ, सही व्याख्या भयो भने संसद पुनःस्थापना हुन्छ,’ उनले भने, ‘हामीलाई विश्वास छ अदालतबाटै संसद पुनःस्थापना हुन्छ तर जनताको अदालतलाई पनि जागरुक बनाउनुपर्छ । हिजो गिरिजाबाबुले रत्नपार्कमा टाउको फुटाउँदा संसद पुनःस्थापना भएको थियो । अब फेरि हामीले टाउको फुटाउनुपर्ने बेला आएको हो कि ? तपाईंहरू तयार हुनुहुन्छ ?’
कार्यक्रममा अध्यक्ष प्रचण्डले सूर्य चिह्न आफूहरूबाट खोसे नेपालमा आँधीहुरी, बतास आउने बताए । ‘सूर्य चिह्न हाम्रै हुन्छ, द्विविधामा बस्नै पर्दैन,’ उनले भने, ‘विधान र निर्वाचन कानूनमा प्रस्ट भनिएको छ, जससँग बहुमत छ, आधिकारिक त्यही हुन्छ, हामीसँग ७०५ छ, मन्त्री पाएपछि जानेका कुरा छाडिदिनुस् ।’
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको बहुमतबाट हटाउने तयारी संसद विघटनअघि नै गरिएको खुलासा समेत गरे । उनले ओली नसच्चिए पार्टीको बहुमतले हटाउने तयारीस्वरूप आफूले पार्टीमा प्रस्ताव पेश गरेको बताए ।
‘मैले पेश गरेको प्रस्तावको स्प्रिट त्यही नै थियो । सचिवालयमा, स्थायी कमिटी र केन्द्रीय कमिटीमा बहुमत पुगेन भने संविधान मिच्न पाइने व्यवस्था कही छ ?’ प्रचण्डले भने ।
बहुमतको निर्णय पार्टीको निर्णय हुने लेखिएको विधानमा ओलीको पनि हस्ताक्षर गरेको प्रचण्डले बताए । ‘विधानमा यसको एउटा बुँदा मात्रै होइन, छुट्टै शीर्षक नै छ, अहिले दुईतिहाइ बहुमतभन्दा बढी सदस्यको हामीले कमाण्ड गरेका छौं,’ उनले भने ।
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका पूर्व माओवादी नेताहरूलाई जनयुद्ध कुहिएकै फर्सी हो भनेर प्रश्न गरेका छन् । अध्यक्ष प्रचण्डले भने, ‘केपीतिर लागेका हाम्रा साथीहरूलाई सबैले सोध्नुहोला – के जनयुद्ध कुहिएकै फर्सी हो त ?’
तत्कालीन जनयुद्धमा सहभागी गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट लगायत नेताहरू ओलीतिर लागेका छन् । ओलीले हालै एक कार्यक्रममा जनयुद्धलाई कुहिएको फर्सीसँग तुलना गरेका थिए ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणको सहमति हुँदा समेत ओलीले जनयुद्धका उपलब्धी स्वीकार्ने विषयमा सहमति गरेको स्मरण गर्दै प्रचण्डले सोधे, ‘के त्यो केपी ओलीले हस्ताक्षर कीर्ते हो ? यदि त्यसो होइन भने यो बेइमानी हो । कोही पनि क्रान्तिकारीलाई यो स्वीकार्य हुँदैन ।’